आयोजनामा आवश्यक निर्माण सामग्री पैठरीमा राजश्व छुट



काठमाडौं । सरकारले विभिन्न आयोजनालाई आवश्यक निर्माण सामग्रीको पैठरीमा राजश्व छुट दिएको छ ।

अर्थमन्त्रालयले गत असोज २५ गते राजपत्र प्रकाशित गर्दै विभिन्न आयोजनाको निर्माण सामग्री पैठरीमा राजश्व छुट दिएको हो ।

सरकारले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन जयनगर बर्दिबास रेलमार्गअन्तर्गत कुर्था–बिजदपुरा खण्डमा भारतीय रुपैयाँ ३१ लाख २ हजार २२० मूल्य बराबरको खपत हुने सामग्रीमा लाग्ने कर तथा महसुल छुट दिएको हो ।

त्यसैगरी, भारतको सहयोगमा निर्माणाधीन भारतको जोगवनी र विराटनगरको रेलमार्गको १६+८२० किलोमिटर १८+६०० खण्डलाई पर्ने निर्माण सामग्री भारतीय रुपैयाँ १२ करोड ८३ लाख ८० हजार र ३५० रुपैयाँको मूल्य बराबरको खपत हुने सामग्रीमा सम्पूर्ण कर तथा महशुल छुट दिएको छ ।

जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आयोजना निर्माण कार्यकका लागि आयोजनामा खपत हुने अमेरिकी डलर २७ लाख २९ हजार ७५७ रुपैयाँ मूल्य बराबरको खपत हुने निर्माण सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार तथा अन्य छुट दिएको छ ।

साथै, चीन सरकारका ऋण सहयोगमा सञ्चालित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना निर्माण कार्यका लागि अमेरिकी डलर ९८ हजार ८८३ मूल्य बराबरको एत्री जीप भेकल्स् थान २ मा लाग्ने राजश्व छुट दिएको छ । उक्त राजश्वको छुटको व्यवस्था आगामी ५ वर्षका लागि कायम हुने मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु