तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा



   
रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ ।

४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट शुरू भएको उक्त आयोजनाले ३ हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।    
    
 विद्युतगृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युतगृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ ।    
    
आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिए । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।    
    
 विद्युतगृहमा जडान हुने चौसठ्ठी प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ । उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट रु १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए ।    
    
विद्युतगृहको उपकरण जडानका लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ । यस्तै १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ ।    
    
चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युत्गृहमा समेत उपकरण जडान हुनसकेको आयोजना प्रमुख सुदन महतले जानकारी दिए । विद्युत् विकासको काम द्रुतरूपले अगाडि बढाउन सञ्जेन जलिवद्युत् कम्पनीले दुई स्थानमा रहने विद्युत्गृहका लागि छुट्टाछुट्टै आयोजना प्रमुख तोकी कार्य अगाडि बढाइरहेको छ ।    
    
चिनियाँ प्राविधिकलाई छिटो आइदिन ताकेका गर्दै आयोजनाका जिम्मेवार प्राविधिकको ध्यान उपकरण जडानतर्फ केन्द्रित भइरहेको जनाइएको छ । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७ दशमलव तीन मेगावाट विद्युत् उत्पादन हुने र सिम्बु तथा चिलिमे टारसमेतको दुई स्थानमा छुट्टाछुट्टै विद्युत्गृह निर्माण भइसकेका छन् ।    
    
पानीको स्रोत एउटै हुँदा सिम्बुमा रहने माथिल्लो विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था आए पनि सोही पानीले तल्लो विद्युत्गृह भने निर्वाधरूपले सञ्चालन हुने जनाइएको छ । पानीको प्रवाह निरन्तर जारी राख्न इभिडी भल्व अर्थात् एर्नजी डिसेपेटिङ राख्ने तयारी भइरहेको छ । यो उपकरण जर्मनमा निर्माण भएको र जलविद्युत्मा प्रयोगका लागि यो प्रविधि नेपालको पहिलो नमूना भएको आयोजनाले जनाएको छ ।    
    
तल्लो साङ्जेन जलविद्युत् आयोजनाको निर्माण ढिलाइ हुनुमा विगतका समयमा भएको पेट्रोलिम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड रोगको सङ्क्रमण एवं पटक पटक आयोजना प्रमुखको फेरबदलजस्ता कारण रहेको बताइएको छ ।


क्लिकमान्डु