चिप्सको अभावका कारण महंगा हुँदैछन् कार
काठमाडौं । कोभिड–१९ को महामारीका कारण अनेक आयाममा प्रभाव पार्यो नै । आधारभूत मानवीय आवश्यकतादेखि सेवा–सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्यो ।
सुविधाका रुपमा मात्रै नभइ सुरक्षाका दृष्टिले समेत पछिल्लो समय गाडी आवश्यकता बन्न थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको बेला मानिसहरुबीच भौतिक दुरीको प्रसंग आउँदा निजी कारको महत्व अझै बढेको हो ।
एकपटक जसरी भए पनि गाडी किन्नुपर्छ भन्ने निष्कर्षमा धेरै मानिस पुगेका छन् । गाडीको आवश्यकता र माग बढिरहेको यो बेला कोरोनाको साइडइफेक्ट गाडी उत्पादनमा पनि परेको छ । कारण हो– चिप्स उत्पादनमा कमी । अहिले विश्वभरि नै चिप्सको अभाव बढेको छ । परिणाम– गाडी पारखीदेखि निर्मातासम्मलाई समस्या परेको छ ।
यो चिप्स के हो त ?
हामी आधुनिक सवारी साधनमा बाहिरी आँखाले देख्ने पार्टपुर्जा इञ्जिन, गियरबक्स, च्यासिस, ह्वील, टायर, ग्लास, प्लास्टिक, स्टिलआदिलाई मात्रै याद गर्छौं । तर, एउटा गाडीलाई बढी सुविधासम्पन्न बनाउन धेरै किसिमका इलेक्ट्रोनिक कन्डक्टर तथा माइक्रो चिप्सजस्ता पाट्र्स पनि आवश्यक पर्छ ।
कारहरूमा इन्जिनमा कति तेल पठाउने भन्ने कुराको निर्धारण गर्नेदेखि विन्ड स्क्रिनको वाइपर वा हेडलाइटको टाइमिङ, एयरव्याग र क्लाइमेट कन्ट्रोलजस्ता कामहरू कम्प्युटर चिप्सको मद्दतबाट सञ्चालन हुन्छन् ।
आफ्नो गाडीमा एड्भान्स टेक्नोलाजी होस् र त्यसले यात्रालाई आरामदायी र सुविधासम्पन्न बनाओस् भन्ने सोचिरहेका हुन्छौ । प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा झन्डै १ सय वटाजति माइक्रो चिप्सहरूको प्रयोग हुन थालेको छ । अझ कारमा व्यापक रूपमा कनेक्टेड फिचर र अटोनोमस प्रविधिको विकास भएसँगै चिप्सको मागमा अत्यधिक वृद्धि हुँदै गएको छ । ती चिप्सहरूले हाम्रो शारीरिक कठिनाइलाई निकै कम गराउँदै लगेको छ ।
विश्वव्यापी रूपमा कोरोनाको कहर फैलिएसँगै चिप्सको सप्लाइ–चेनमा नराम्रो धक्का पुगेको छ । जसका कारण अटोमोबाइल कम्पनीहरूले अन्य पार्ट्सको उपलब्धता भए पनि कम्प्युटर चिप्स तथा सेमिकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन् ।
जापानिज अटो जायन्ट टोयोटाले सेप्टेम्बरको उत्पादनमा ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले आफ्नो दुईवटा उत्पादन प्लान्टको डबल सिफ्ट बन्द गर्ने निर्णय गर्नु परेको थियो । निसानले अमेरिकी र मेक्सीको प्लान्टमा हुने उत्पादनलाई घटाएको छ । फक्सवागेनले आफ्ना १० हजार कामदारलाई घर पठाउन बाध्य भएको जनाएको छ । यसले अटोमोबाइलको दायरा र अवसरमा धक्का पुग्नेबारे सरोकारवालाहरू थप चिन्तित भएका छन् ।
विश्व बजारको एउटा महत्वपूर्ण हिस्सा भारतीय अटोमोबाइल कम्पनीहरू पनि यस समस्याबाट ठाढा रहन सकेनन् । चिप्स सप्लाइमा आएको मन्दीका कारण सवारी साधन उत्पादनमा कमी आयो । यसले ग्राहकहरूले आफ्नो रोजाइको सवारी साधन पाउन धेरै समय कुर्नुपर्ने बाध्यता आइपरेको हो ।
नेपाली गाडी बजारको झन्डै ९७ प्रतिशत सवारी साधन भारतीय उत्पादनमा निर्भर रहेका कारण चिप्सको अभावको प्रत्यक्ष प्रभाव नेपालमा पनि स्वाभाविक रूपमा पर्यो । महिन्द्राका उत्पादनहरू विगत १ वर्षदेखि मागअनुसारको सप्लाइ भइरहेको छैन । हुन्डाई, सुजुकी, टाटा मोटर्सका भारतीय प्लान्टबाट उत्पादन हुने कतिपय कार मोडल खरिद गर्न लामो समयसम्म कुर्नुपर्ने अप्ठ्यारो बाध्यता आइलागेको हो । मागअनुसार पूर्ति नहुने क्रम बढ्दै जाँदा सम्बन्धित क्षेत्रमा हाहाकार हुने खतरा बढ्छ ।
अटोमोबाइलमा कसरी बिग्रियो सप्लाइ चेन ?
कोभिड– १९ को कहरसँगै कारको बिक्रीमा विश्वव्यापी मन्दी आएको थियो । सोही समयमा धेरै कार कम्पनीहरूले आफ्नो उत्पादनलाई कटौती गरे । अझ कतिपय कार प्लान्ट त महिनौं बन्द भएका थिए । यस्तो समयमा अटोमोबाइल उत्पादकहरूले कम्प्युटर चिप्सको पछिका लागि अर्डरहरू रद्द गरे । तर, सोही समयमा विश्वव्यापी रूपमा फैलिएको डिजिटल प्रविधि प्रयोग तथा ‘वर्क फ्रर्म होम कल्चर’ ले अफिसियल काम गर्ने परिपाटीको विकास गर्यो ।
शिक्षा क्षेत्र, अनलाइन सपिङ तथा बैकिङजस्ता गतिविधिले स्मार्टफोन, ल्यापटप, वेभक्याम, मनिटरजस्ता वस्तुहरूको माग धेरै गुणाले बढाइदियो । फलस्वरूप कन्जुमर इलेक्ट्रोनिक्स उत्पादकहरूले भने आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्दै लगे । अटोमोबाइल क्षेत्रले रोकेको अर्डर कन्जुमर इलेक्ट्रोनिक्स कम्पनीहरूले एकैपल्ट सबै खरिद गरिदिए ।
जब अटोमोबाइल क्षेत्रको बिक्रीमा ‘रिबाउन्स’ शुरु भयो, तब अटोमोबाइल कम्पनीहरू चिप्स सप्लायर्स कहाँ दौडिन लागे । तर, उनीहरू सप्लाइ लाइनको पुछारमा पुगिसकेका थिए । भविष्यको धेरै समयसम्मको सप्लाइ कन्जुमर इलेक्ट्रिोनिक्स कम्पनीहरूले बुक गरेका कारण अटो निर्माता कम्पनीहरू अहिले आएर आफ्नो नियमित उत्पादन नै कटौती गर्न बाध्य भए ।
चिप्स कम्पनीहरूले पनि अटोमोबाइललाई प्राथमिकतामा राखेका पक्कै छैनन् । विश्वबजारको सबै सेमीकन्डक्टर उत्पादनको मात्र ८ प्रतिशत हिस्सा अटोमोबाइल कम्पनीले उपभोग गरिरहेका छन् । उदारहणका लागि एप्पलले वार्षिक रूपमा चिप्सका लागि ५६ अर्ब अमेरिकी डलर खर्च गर्छ भने टोयोटाको वार्षिक खर्च चिप्सलगायत सेमीकन्डक्टरहरूमा मात्र ४ अर्र्ब डलरको रहेको छ । यस्तो अवस्थामा चिप्स कम्पनीहरूले आफ्नो ठूलो ग्राहकलाई सधैं पहिलो छनोटमा राख्नु कुनै अनोठो कुरा होइन ।
यदि अटोमोबाइल कम्पनीलाई पहिलो प्राथमिकतामा राखियो भने पनि लाखौं सर्किटलाई जोडेर बनाइने सानो सिलिकनको टुक्रा आकारको चिप्स बनाउनका लागि कम्पनीहरूलाई २६ हप्ता अर्थात् आधा वर्षजति समय लाग्छ ।
उद्योगहरूमा गरिएको अध्ययनअनुसार एउटा कम्प्युटर चिप्स बनाउन ८ हजार लिटर पानीको आवश्यकता पर्छ । यति धेरै पानीको प्रयोग हुने हुँदा चिप्सको उत्पादन बढाउन कम्पनीहरूलाई दैनिक करोडौं लिटर पानी थप आवश्यक हुन्छ । यही कारण कम्पनीहरूले चाहेर पनि अटोमोबाइलको चिप्सको मागलाई पूरा गर्न सक्दैनन् ।
चिप्सको मार्केट सेयर कस्तो छ त ?
भौगोलिक आधारमा सबैभन्दा धेरै सेमीकन्डक्टर तथा चिप्सको उत्पादन एसिया प्यासेफिक क्षेत्रमा हुने गर्छ । चिप्सको उत्पादन गर्ने स्थानलाई फाउन्ड्री भनिन्छ । यस्ता फाउन्ड्रीहरू भियतनाम, ताइवान, चीन, जापान तथा दक्षिण कोरियामा धेरै रहेका छन् ।
सन् २०२१ को पहिलो क्वाटरको डाटाअनुसार विश्वको चिप्स तथा सेमीकन्डक्टर मार्केटको सबैभन्दा धेरै ५६ प्रतिशतको बजार हिस्सा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) को रहेको छ । त्यसपछि कोरियनली कम्पनी सामसुङको हिस्सा करिब १८ प्रतिशत रहेको छ ।
त्यस्तै ग्लोबल फाउन्ड्री तथा युएमसीको समान ७ प्रतिशत रहेको छ । बाँकी कम्पनीहरूले १२ प्रतिशत मात्रै चिप्स बनाउने गर्छन् । चिप्स अभाव भएपछि गाडी निर्माताहरू मात्रै समस्यामा परेका छैनन्, अटो उद्योगको राजस्वमा २१० अर्ब डलरभन्दा धेरै नोक्सान भएको छ । यस्तो पनि अनुमान लगाइँदै छ कि अटोमोबाइलले २०२१ मा ७.७ मिलियन युनिट उत्पादन पनि गर्न सक्दैन । उत्पादनमा कमी आउनुमा कच्चा पदार्थ मात्रै कारक नभएर श्रमको कमीलाई पनि महत्वपूर्ण पाटोको रूपमा उल्लेख गरिएको छ ।
चीन–अमेरिकाको व्यापार युद्ध सुरु भएसँगै अमेरिकाले यस्ता फाउन्ड्रीको स्थापना अमेरिकामै बढाउँदै लगेको छ । अमेरिकाले आफ्ना उत्पादनहरूमा प्रयोग हुने चिप्स अमेरिकामै उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । उता, चीनमा पनि सन् २०२१ को शुरुवातसँगै चिप्स डिजाइनिङ तथा म्यानुफ्याक्चरिङको क्षेत्रमा काम गर्ने १५ हजारभन्दा बढी कम्पनीहरू स्थापना भएका छन् ।
जापानले पनि सेमीकन्डक्टर उत्पादनको रिसर्चका लागि ३७ अर्ब जापानी येनको लगानी गरेको छ । जापानको हिताची हाइटेक कर्पोरेसनले टीएसएमसीसँगको सहकार्यमा उत्पादन गर्ने योजना अघि बढाएको छ । जापानकै अन्य २० कम्पनीसमेत यस्ता उत्पादन बढाउन काम गरिरहेका छन् । साउथ कोरियाले पनि यस्ता कम्पनीहरूका लागि ५ सय १० ट्रिलियन कोरियन वानको कर छुट योजना अघि बढाएको छ ।
हामीले जुनसुकै आँकडाबाट तथ्यांक पल्टाए पनि चिप्सको अभावका कारण अन्य उत्पादनजस्तै अटो उद्योगमा पनि ठूलो संकट आइलागेको देखिन्छ । तर, चिप्सको अभावलाई कसरी परिपूर्ति गर्ने भन्नेबारे ठोस विकल्प र पहलकदमी दृश्यमा देखिँदैन ।