६ अर्ब लगानीमा सूर्य नेपालले पाँचतारे होटल निर्माण गर्दै



काठमाडौं । सूर्य नेपालले पाँच तारे होटल निर्माण गर्ने भएको छ । लामो समयदेखि तयारी शुरु गरे पनि हालै उद्योग विभागबाट स्वीकृति पाएको छ ।

‘डिजाइन सकेर बसे पनि स्वीकृति पाइएको थिएन, विभागबाट स्वीकृति पाएपछि अब प्रक्रिया शुरु हुन्छ,’ सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवी केसीले क्लिकमाण्डूसँग भने ।

यसअघि कम्पनीले २०७६ पुषमा विभागमा आवेदन दिएको थियो । तर लगानीको मोडालिटी नमिलेको भन्दै विभागले २ वर्षसम्म अल्झाएको थियो । कम्पनीले नाफाको रकमबाट होटल खोल्ने लगानीको मोडालिटी विभागमा पेश गरेको थियो । तर नाफा हुने ग्यारेन्टी नहुने भन्दै विभागले दर्ता गर्न मानेको थिएन ।

कम्पनीले लगानी सम्मेलनलमा समेत होटल निर्माण गर्ने घोषणा समेत गरेको थियो ।

काठमाडौंको बुढानिलकण्ठमा निर्माण हुन लागेको होटलका लागि कम्पनीले पछिल्लो ४ वर्षदेखि प्रक्रिया शुरु गरेको थियो । यसका लागि कम्पनीलले ७२ रोपनी समेत खरिद गरिसकेको छ । साथै नापीको केही काम अझै बाँकी भएको केसीले बताए । कम्पनीले करिब २५ वर्षअघि नै बुढानिलकण्ठमा जग्गा खरिद गरेको थियो ।

होटलमा १५० देखि २०० वटासम्म कोठा हुनेछन् । सूर्य नेपालमा भारतको आइटीसी लिमिटेडको ५९ प्रतिशत स्वामित्त छ । साथै नेपाली लगानीकर्ताको ३९ प्रतिशत, ब्रिटिस अमेरिकन टोबाको इन्भेष्टमेन्ट कम्पनीको २ प्रतिशत लगानी छ ।

तर होटल भने विशुद्ध सुर्य नेपालको नाममा रहने उनको भनाइ छ ।

होटलमा एकै साथ करिब ५ सय जनालाई सेवा दिन सकिनेछ । साथै ३ सयभन्दा बढीले रोजगारी पाउनेछन् ।

सूर्य नेपाल सञ्चालक समितिले यसअघि नै कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट बढाएर १८ अर्ब रुपैयाँ पुर्याएर होटलमा लगानी गर्ने निर्णय गरिसेकको छ ।

सञ्चालक समितिले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता १ सयका दरले वृद्धि गर्ने निर्णय गरिसकेको छ ।


क्लिकमान्डु