छोरा आर्यन पक्राउ परेपछि शाहरुख खानको ६ अर्ब जोखिममा



छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन् भने यता ड्रग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन् ।

यतिसम्म कि तीन वर्षपछि निर्माण भइरहेको उनको चलचित्रको काम पनि यतिबेला रोकिएको छ । विज्ञापन दाता कम्पनीहरुले उनी अभिनित विज्ञापन बजाउन रोक्न शुरु गरिसकेका छन् । बायजुले त विज्ञापन शुरुमै रोकिसकेको छ ।

शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसैगरी भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरिसकेका छन् । जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ ।

फोर्ब्सका अनुसार शाहरुख खानको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु छ । अहिले ड्रग्सको विवादपछि नयाँ विज्ञापन तथा फिल्महरु पाउने अवस्था छैन ।


क्लिकमान्डु