विदेशी मुद्रा सन्चिती बढाउन सरकारले चाँदीको भन्सार २५% ले बढायो



काठमाडौं । सरकारले विदेशी सन्चिती बढाउनको लागि चाँदीमा लाग्ने भन्सार बढाएको छ । चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ६५ करोड रुपैयाँको ६९ हजार १ सय ५२ किलो चाँदी आयात भएको थियो । गतवर्षमा जति चाँदी आएको थियो यो वर्ष २ महिनामा सोही अनुपातमा चाँदी आएपछि सरकारले भन्सार दर बढाउने निर्णय गरेको हो ।

सरकारले सोमबार चाँदीको भन्सार बढाउने निर्णय गरेको हो । चाँदीमा प्रति १० ग्राममा ८७ रुपैयाँ भन्सार शुल्क लाग्ने गरेको थियो । सरकारले यसलाई बढाएर १०७ रुपैयाँ पुर्याएको हो । दशैंबिदापछि राजपत्रमा भन्सार बढेको सूचना प्रकाशित हुन्छ । मन्त्रीपरिषद्ले निर्णय गरेर विदेशबाट आयात हुने वस्तुको भन्सार तथा अन्तःशुल्क बढाउने अधिकार रहेको छ । २ महिनामा ३ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको थियो ।

चालु आर्थिक वर्ष सुरु हुनासाथ भएको उच्च आयातका कारण शोधानान्तर घाटामा छ । जसले गर्दा बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव छ । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात नै रोक्न तथा आयात निरुत्साहनको लागि भन्सार बढाउन सुझाव दिएको थियो । नेपालभन्दा भारतमा चाँदीको भन्सारदर बढी भएपछि नेपाल हुँदै आएको चाँदी भारततर्फ गएको अनुमान सरकारी अधिकारी छ ।

‘२ महिनामा आयात भएको हिसाबले चाँदी आयात भएमा यो वर्षमा ३० अर्बजतिको चाँदीमात्र आयात हुने थियो,नेपालबाट चाँदी ल्याएर भारत तर्फ जाने क्रम रोक्नको लागि भन्सार बढाइएको हो,’अर्थमन्त्रालयका एक अधिकारीले भने ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको दुई महिनाको अवधिमा ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको ६९ हजार १ सय ५२ केजी चाँदी आयात भएको छ । जुन हालसम्मकै उच्च हो ।

गत वर्ष सोही अवधिमा नेपालले ७ करोड ६१ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार केजी मात्रै चाँदी आयात गरेको थियो । साथै, गत वर्षमा नेपालले ५ अर्ब ८० करोड ७० लाख २४ हजार रुपैयाँ बराबरको ५७ हजार ९ सय ८६ केजी चाँदी आयात गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आवको दुई महिनाको तथ्याङ्क हेर्दा गत वर्ष आयात भएकोभन्दा बढी चाँदी दुई महिनाको अवधिमै आयात भइसकेको छ । जसले गर्दा सरकारलाई नै दबाब सिर्जना हुन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा ३८ अर्ब ७५ करोड रुपैयाँ शोधानान्तर घाटामा छ ।


क्लिकमान्डु