१०४ दिनपछि सकियो वायुसेवा निगमका कर्मचारीको आन्दोलन, महाप्रबन्धकलाई प्रवेश गर्न भने नदिने



काठमाडौं । पछिल्लो १०४ दिनदेखि जारी नेपाल वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलन टुंगिएको छ । पर्यटन मन्त्री प्रेम आलेको उपस्थितीमा कर्मचारीबीच सहमति भएको हो ।

निगम व्यवस्थापनले बिना तयारी निगमलाई निजीकरण गर्न लागेको भन्दै कर्मचारीहरु आन्दोलनमा थिए । कर्मचारीहरुले महाप्रबन्धक डिमप्रसाद पौडेललाई कायम राखेको प्रवेश निषेध भने अझै पनि जारी राख्ने बताएका छन् ।

कर्मचारीहरुका माग १५ दिनभित्र पूरा गर्ने र सोसमयमा महाप्रबन्धकलाई प्रवेश निषेध राख्ने र कात्तिक १० गतेभित्र थप आवश्यक निकास निकाल्ने गरी सहमति भएको छ । यदि माग पूरा नभएमा सशक्त रुपमा फेरि आन्दोलन गर्ने पनि निगमका कर्मचारीहरुको भनाइ छ ।

मन्त्री आले तथा वायुसेवा निगमका कर्मचारीबीच निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए ।

‘महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ ,’ उनले भने ।


क्लिकमान्डु