दशैं बिदामा घुम्न जाँदै हुनुहुन्छ ? यी ठाउँ तपाईंका लागि उपयुक्त हुन सक्छन्



काठमाडौं । नेपालीहरुको महान चाड दशैं लागिसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ ।

तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ भने हामीले तपाईंका लागि नेपालकै विभिन्न ठाउँहरु उपयुक्त हुन सक्छन् भनेर जानकारी दिन खोजेका छौं । रोजाई भने तपाईंको आफ्नै हो ।

पछिल्लो समय समुहनै बनाएर घुम्न जाने प्रचालन बढ्दो छ । परिवार र साथी भाइसहित दशै विदामा घुम्न चहानेहरुका लागि विभिन्न स्थानहरु छनोट गर्न सकिन्छ ।

सवैलाई लामो र छोटो विदा सरकारी देखि निजी क्षेत्रका कार्यरत कर्मचारीहरुलाई अवस्य मिलेको हुन्छ । जसमा साथीहरुसंग र पारिवारिक भ्रमण गरेर विदाको सदुपयोग गर्न सकिन्छ । नेपालमा धेरै गन्तव्यमा घुम्न जान सकिन्छ । केही गन्तव्यको बारेमा तल उल्लेख गरिएको छ ।

पाथीभरा दर्शन


ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध तिर्थस्थल हो । विभिन्न स्थानहरुको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने ।

आधा दिन चिया बगानको अवलोकन गर्ने साथै सो दिन अन्तुडाडाँमा बासोबास गर्ने । अन्तु डाँडाँबाट ६ घन्टाकोे सवारीमा यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने । ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शन पछि सो दिन तप्लेजुङमानै बस्ने ।

रारा ताल

सडक क्षेत्रको पहुँच भएपछि मुगु जिल्लाको रारा ताल धेरैका लागि पर्यटकीय गन्तव्य बन्नपुगेको छ । समुद्रि सतहदेखि तीनहजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ ।

रारासँगै यस आसपासको पर्यटन पनि फस्टाउँदो छ । गर्मि समयमा रारा तालको यात्रा सुखद अनुभुति बन्न सक्नेछ । रारा तालको अवस्थिती र आकार नै प्राकृतिक सुन्दरताको उच्चतम नमुना मानिन्छ ।

तालसँगै रहेको जङ्गल र आसपासका मनोरम दृश्य रारा तालमा आकर्षण बढाउन पर्याप्त छन् । रारा ताल टे«्किङ्का लागि पनि प्रसिद्ध छ । एक हप्तादेखि १० दिनसम्मको समय रारा तालको घुमघामका लागि पर्याप्त हुन सक्छ ।

डोल्पा

से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने डोल्पो अहिलेसम्म आन्तरिक पर्यटकका लागि अझै गन्तव्य बन्न सकेको छैन । गर्मिमा टे«किङ र ग्रामिण क्षेत्रको खास अनुभुति गर्ने चाहना छ भने डोल्पोलाई रोजाइमा राख्नुहोस ।

यात्रा अवधिभर देखिने हिमालका अनेक रुप र वन्यजन्तुका रहर लाग्दा गतिविधि डोल्पोका आकर्षणका माध्यम हुन् । स्थानीय संस्कृति पनि आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि नयाँ अनुभव बन्न सक्छन् ।

तल्लो र माथिल्लो गरी डोल्पोमा दुई ओटा टे«किङ रुट छन् । नेपालगञ्जबाट दुनै हुँदै ताराकोट र तारफ खोलापछि डोल्पो क्षेत्र प्रवेश गरीन्छ । पुरा क्षेत्रको टे«किङको लागि कम्तिमा तीनहप्ता लाग्छ ।

पोखरा–लुम्बिनी–सौराह

केही दिनको विदामानै घुम्न उपयुक्त स्थान हुन सक्छ काठमाडौं–पोखरा–लुम्बिनी–सौराहा । स्वदेशी विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात स्थान हुन गन्तव्य । काठमाडौंबाट पोखरा गएर एकरात दुई दिन बसेर मुख्या स्थानहरु घुमेपछि रात्री बस चढेर लुम्बिनी जान सकिन्छ । लुम्बिनी जाने उपयुक्त मौसम हो अहिले ।

त्यसपछि सौराह आएर थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सुर्यास्तको दृश्य, अनि जंगलसफारीका लागि प्रख्यात छ चितवन । यतिमात्र नभएर चराचुरुङ्गी अवलोकनाका लागि पनि चितवन उपयुक्त गन्तव्य हुन सक्छ ।

यो ठाउँ मयुर, च्याखुरा, पानी हाँस र चखेवाको वथानसहित अन्य चराहरुको बसोबासको थलो हो । शान्त र राष्ट्रिय निकुन्ज नजिकै भएकाले पनि बाघसमेत हेर्ने मौका मिल्न सक्छ ।

खप्तड

सुदुरपश्चिमको खप्तड जान काठमाडौबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको वसयात्रा गरेपछि धनगढी पुगिन्छ ।

धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि वसमै आठघण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ । पैदालयात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ ।

हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्चि बाटो छ । त्यसका लागि रिर्जभ गर्नु पर्छ ।

सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन विहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ । दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्जक्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । विहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ ।

त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न । बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न । ठूल–ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ ।

दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट शुरु हुन्छ खप्तडक्षेत्रको सुन्दर दृश्य । खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुरको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी–सालमुनिको यस क्षेत्रका आकर्षण हुन । खप्तड यात्राको लागि काठमाडौं देखि १० दिनको समय उपयुक्त हुन्छ ।

भोटेकोशी र त्रिशुलीमा र्‍याफ्टिङ

साहसिक जलायात्रा र्‍याफ्टिङ लागि नेशनल जोग्राफी च्यानलले विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोशीलाई पनि राखेको छ । पछिल्लो समय भोटेकोशीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ ।

काठमाडौंमा बसिरहेकाहरु छुट्टीको समयमा त्रिशुली र भोटेकाशी नदीमा र्‍याफ्टिङ गर्न आउने क्रम बढेको व्यावसायीहरुको भनाई छ । यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरुले गरेका छन ।

भोटेकोशी र त्रिशुलीमा दिनभरी ¥याफ्टिङ गरेर साँझ आरम गर्न पनि सकिने तथा र्‍याफ्टिङ गरेर यहाँबाट काठमाडौ पनि पुग्न सकिन्छ । माथिल्लो भोटेकोशी र तल्लो भोटेकोशीमा याफ्टिङ व्यवस्था गरिएको छ । याफ्टिङ लागि माथिल्लो भोटेकाशी तल्लो भन्दा साहसिक मानिन्छ ।

माथील्लो भोटेकोशीमा याफ्टिङ गर्दा केही कम अनुभवीलाई तल्लो भोटेकोशी उपयुक्त छ । पहिलो पटकमै पनि माथील्लो भोटेकोशीमा र्‍याफ्टिङ सकिन्छ । त्रिशुलीमा नदिमा परिवारसहित र्‍याफ्टिङ गर्न सकिन्छ । त्रिशुलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु र्‍याफ्टिङ  लागि आउने गरेका छन् । राजधानीबाट नजिकै र पहिलो पटक र्‍याफ्टिङ गर्नेलाई पनि यो उपयुक्त गन्तव्य हुन्छ ।

पुनहिल पदयात्रा

दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ ।

पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

पोखराबाट नयापूलसम्म सवारीसाधनको सुविधा छ । नयापूलबाट शुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयापूलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।

समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाईको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाईन्छ ।

पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागीरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ ।

लोमाङथाङ

हिमालपारीको जिल्ला मुस्ताडको आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ ।

गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । गुजुमुक्क घरहरु । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुमजुक्क घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन । लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर ।

गुम्बाको जिल्ला भनिने मुस्ताड जान मोटरको सुविधा छ । उक्त क्षेत्रमा जाँदा मुस्ताङको मुक्तीनाथ पनि जाने उपयुक्त गन्तव्य हो ।

लाङटाङ

वरीपरी हिमालको वीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व भएपनि गुम्वा भने जीर्ण अवस्थामा । यो जीर्ण गुम्वामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ ।

जुन् गुम्बा हो, रसुवाको क्यानजेन गुम्बा । बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ । नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाईमा पर्छ लाङटाङ पदयात्रा ।

पर्यटकको रोजाईमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा ।

हलेसी महादेव दर्शन टुर

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को सहकार्यमा हलेसी महादेव दर्शन टुर प्याकेज सार्वजनिक गरिएको छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्याकेजमा विशेष गरी धार्मिक पर्यटकहरु समावेश हुन सक्ने छन । खोटाङ जिल्लामा रहेको हलेसी महादेव बौद्ध धर्मालम्बीहरुको लागि समेत चिर्चित क्षेत्र हो ।

उक्त क्षेत्रमा जानको लागि हवाई र सडक दुवै प्रयोग गर्न सक्ने छन । खासगरी हवाई मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडौ–कटारी, जनकपुर अथावा विराटननगर जुन सुकै स्थानमा पनि जान सकिन्छ । त्यो दिन कटारीका बसेर पहिलो दिन बास बस्नुपर्ने हुन्छ ।

जनकपुरधाम

एतिहासिक मन्दिर जनपुरधाम विश्वभरका हिन्दुहरुको लागि चर्चित रहेको छ । जसमा बोर्डले तीन दिने प्याकेज सार्वजनिक गरेको छ ।

जनकपुर पुगेपछि आधा दिन जानकी मन्दिर, राममन्दीर, विवाह मन्डप, राजदेवी मन्दिर लगायत क्षेत्रको अवलोकन गर्न सकिन्छ । धनुस धामको पुजा, त्यसपछि सिताको विवाह भएको क्षेत्र लगायत ऐतिहासिक क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

कोशी क्षेत्रको अवलोकन

कोशी क्षेत्रमा जान पनि हवाई र सडकदुवै मार्गको प्रयोग गर्न सक्दछन । पाँच दिन सम्म संचानल हुने प्याकेज हो । काठमाडौं बाट विराटनगर हवाई मार्ग मार्फत पनि जान सकिन्छ ।

आधा दिन नजिकमा क्षेत्रहरुको अवालोकन, साथै सोही दिन ६० किलोमिटर दुरी पार गर्दै कोशी टप्पु क्षेत्रमा जान सकिन्छ । सो दिन सोही क्षेत्रमा बसोबास । कोशी टप्पु बाट फर्किएर बराह क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

त्यसको साथै सप्त कोशी नदीको बाँध स्थल लगायत अन्य क्षेत्रको अवलोकन र सोही दिन भेडेटारमा बसोबास । नाम्जे भिलेज, पानी ट्यांकी डाडाँ, धनकुटा तथा नमस्ते झरनाको अवलोकन । पार्खीवास गाँउको अवलोकन तथा ५ किलोमिटर दुरीमा रहेको हिले बजारको अवलोकन गर्न सकिन्छ ।


क्लिकमान्डु