बढ्यो चारपाङ्ग्रेको आयात



वीरगञ्ज । दशैं र तिहारलगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको छ ।    
    
गतवर्ष चाडपर्वमा कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।    
    
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल रु पाँच अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैैरै रहेको देखिन्छ ।    
    
यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ ।    
    
उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा. लालबहादुर खत्रीले जानकारी दिनुभयो । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रीएको देखिन्छ ।


क्लिकमान्डु