बुध्द एयरले घटायो डलर भाडादर, कुन गन्तव्यको कति ?



काठमाडौं । बुध्द एयरले हवाई भाडादर घटाएको छ । कम्पनीले विदेशी पर्यटकका लागि हवाई भाडादर करिब आधाले घटाएको हो ।

नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर भए पनि अन्य देशका नागरिकका लागि भने डलरमै भाडा तिर्नुपर्ने व्यवस्था थियो ।

लामो समयदेखि रहेको गुनासोलाई सम्बोधन गर्दै बुध्द एयरले २४औं वर्षको समयमा डलर भाडादर घटाएको हो ।

कम्पनीका अनुसार यसअघि काठमाडौं–पोखरा रुटका लागि १०६ डलर तिर्नुपर्नेमा अब यो घटेर ६५ डलरमा सीमित भएको छ ।

महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाई भाडाले थप आकर्षित हुने बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले बताए ।

कम्पनीका लागि काठमाडौं–पोखराका लागि ६५ डलर, काठमाडौं–बिराटनगरका लागि ७६ डलर, काठमाडौं–जनकपुरका लािग ४२ डलर, काठमाडौं–सिमराका लागि ३० डलर, काठमाडौंं–भैरहवाका लागि ६५ डलर, काठमाडौं–धनगढीका लागि १३८ डलर, काठमाडौं–नेपालगञ्जका लागि १०२ डलर र काठमाडौं–भद्रपुरका लागि ९४ डलर कायम गरिएको छ ।


क्लिकमान्डु