दशैंको अवधिमा चार पाङ्ग्रे सवारी साधनको उच्च बिक्री, एउटै कम्पनीको ४ सय वटासम्म बिक्री



काठमाडौं । कोरोना महामारीकै अवस्था भए पनि चार पाङ्ग्रे सवारी साधनको व्यापार सामान्य अवस्थाको दशैंमा जस्तै बिक्री हुन थालेको छ । सामान्य अवस्थामा अटोमोबाइल क्षेत्रले नाडा अटो शेमार्फत् दशैंतिहारको व्यापार गर्दथ्यो ।

तर, कोरोना महामारीले गर्दा गत वर्षदेखि अटो शो हुन सकेको छैन ।

गत वर्ष कोरोना महामारीकै समय भएकाले दशैंको बेलामा चार पाङ्ग्रे सवारी साधनको व्यापार निकै खस्किएको थियो । यो वर्ष भने कोरोना महामारीकै समय भए पनि व्यापार चम्किएको व्यवसायीहरू बताउँछन् । तर, बजारमा ग्राहकले भनेअनुसारको सवारी साधन नपाउँदा बुकिङमै सिमित भएको व्यवसायीहरूको भनाई छ ।

नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमै कोरोना महामारीले गर्दा कच्चा पदार्थको अभावका कारण सवारी साधन उत्पादनमा कमी आएको पाइन्छ । एकातिर बजारमा गाडीको अभाव छ भने अर्कोतर्फ माग उच्च रहेको छ । नेपालले अधिकांश बजारमा उपलब्ध सवारी साधन विभिन्न देशबाट आयात गरी आपूर्ति गर्दै आएका छन् । जसले गर्दा बजारमा भनेअनुसारको गाडी पाउनै मुश्किल भएको छ ।

गत वर्षको दशैंमा सामान्य बिक्री भएको चार पाङ्ग्रे सवारी साधनको यो वर्ष भने विगतको दशैंमा झैं गाडी बिक्री भएको कम्पनीहरूले जनाएको छ । तर, भनेअनुसारको सवारी साधन उपलब्ध गराउँनै मुश्किल भएको उनीहरूको भनाई छ ।

दशैंको अवधिमा गाडी बुकिङ र किन्नेको अवस्था सामान्य अवस्थामै पुगेको व्यवसायीहरूको बताएका छन् । खरिद गर्ने र बुकिङमा राम्रो पिक अपल लिएको व्यवसायीहरू बताउँछन् ।

टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङका महाप्रबन्धक सावन्त सिजापतिले दशैंको समयमा सामान्य दशैंझैं गाडीहरूको बिक्री तथा बुकिङ भएको जारकारी दिए । उनकाअनुसार कम्पनीले हालसम्ममा ४ सय बढी गाडी बिक्री गरेको छ ।

‘गत वर्ष पहिलो चरणको कोरोनाले व्यापारमा निकै प्रभाव परेको थियो । यो वर्ष कोरोनाकै समय भए पनि बजारमा गाडीको माग उच्च छ । सोहीअनुसार बिक्री भएको छ,’ उनले भने ।

त्यस्तै, हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनलका ब्रान्ड म्यानेजर सन्दिप शर्माले हाल दैनिक ४२, ४३ वटा गाडी बिक्री भएको बताए । दशैंअगाडिसम्म सामान्य दैनिक २५ वटासम्म बिक्री भएकोमा दशैंको अवधिमा दैनिक ४२, ४३ वटासम्म बिक्री भएको उनले जानकारी दिए । उनकाअनुसार बजारमा भनेअनुसारको गाडी उपलब्ध गराउन सकेको छैन । दशैंअधिसम्म उपलब्ध नभएपनि दशैं र तिहारसम्ममा कम्पनीले बुकिङ भएको सम्पूर्ण गाडी आयात गरी आपूर्ति गर्ने तयारी गरेको छ ।

दशैंको अवधिमा अत्यधिक गाडी बिक्री भएको र बुकिङ पनि राम्रो भएको उनको भनाई छ ।

नेपालका लाथि टोयटाका आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर सिन्डीकेटका मार्केटिङ अफिसर रितेश उपध्यायकाअनुसार दशैंको अवधिमा राम्रो व्यापार भएको बताए । केही गाडी अभाव भएपनि दशैंमा सामान्य अवस्थाको तुलनामा बिक्री तथा बुकिङ उच्च रहेको बताए । हाल दैनिक २,३ वटा गाडी बिक्री भएको उनले जानकारी दिए ।

त्यसैगरी, फोर्डले पनि यही दशैंको अवधिमा ३ सय बढी गाडी बिक्री गरेका छन् । दशैंअघि कम्पनीसँग ३ सय बढी गाडी थियो । अहिले ६५ देखि ६८ वटा मात्रै गाडी उपलब्ध भएको कम्पनीका एक कर्मचारीले बताए । उनकाअनुसार हाल कम्पनीसँग उपलब्ध नभएका गाडी पनि बुकिङ भएकाले बुकिङसहित ३ सय बढी गाडी बिक्री भएको हो ।

महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटका बजार प्रबन्धक पुष्प खतिवडाले दशैंको अवधिका गाडीको बिक्री उच्च भएको बताइन् । कोरोनाकै समय भएपनि माग उच्च रहेको उनले जानकारी दिइन् ।

होन्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङका मिडिया एक्जिक्युटिभ निजेल लाल श्रेष्ठले पनि यो वर्ष गाडीको बिक्री सामान्य अवस्थामा फर्केको बताए । विगतको दशैंमा जसरी गाडीको माग हुन्थ्यो । सोहीअनुसार यो वर्ष पनि माग आएको छ । यी कम्पनीहरू मात्रै नभएर अन्य कम्पनीहरूको गाडीको बिक्री राम्रो भएको कम्पनीहरू जनाएको छ । जसमा गत वर्षको तुलनामा यो वर्ष निकै गति लिएको उनीहरूको बुझाइ छ ।


क्लिकमान्डु