चाँदी आयातमा रेकर्ड, सरकारले कडाई गर्न नसक्दा शोधानान्तरमा दबाब



काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा हालसम्मकै उच्च चाँदी आयात भएको छ । चालु आर्थिक वर्षको भदौसम्ममा चाँदी आयातले नयाँ रेकर्ड कायम गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागको तथ्याङ्कअनुसार चालु आवको दुई महिनाको अवधिमा ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको ६९ हजार १ सय ५२ केजी चाँदी आयात भएको छ । जुन हालसम्मकै उच्च हो ।

गत वर्ष सोही अवधिमा नेपालले ७ करोड ६१ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार केजी मात्रै चाँदी आयात गरेको थियो । साथै, गत वर्षमा नेपालले ५ अर्ब ८० करोड ७० लाख २४ हजार रुपैयाँ बराबरको ५७ हजार ९ सय ८६ केजी चाँदी आयात गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आवको दुई महिनाको तथ्याङ्क हेर्दा गत वर्ष आयात भएकोभन्दा बढी चाँदी दुई महिनाको अवधिमै आयात भइसकेको छ । जसले गर्दा सरकारलाई नै दबाब सिर्जना हुन थालेको छ ।

नेपालको व्यापारघाटा मासिक १ खर्ब बढी चुलिएको छ । बजारमा अत्यवश्यकभन्दा बढी विलासिताका वस्तु बढी आयात भएकाले व्यापारघाटा निकै चुलिएको जानकारहरू बताउँछन् ।

त्यस्तै, विलासिताको वस्तु चाँदी आयातले नेपालको शोधान्तर बचतमा ठूलो दबाब पर्न थालेको छ । साथै, विदेशी मुद्रा संचितिमा पनि चाँदीको आयातले समस्या पर्न थालेको छ ।

सरकारले सुन वितरणमा कोटा तोकेको छ । तर, चाँदीमा कुनै खालको बाधा अड्चन छैन । चाँदीमा सुनको जस्तो कोटा हालसम्म तोकिएको छैन । व्यवसायीहरूले आवश्यकअनुसार चाँदी उपभोग गर्न पाउने तथा खरिद बिक्री गर्नका लागि खुल्ला बजार बनाएको छ ।

खुल्ला बजार भए पनि विगतको दिनमा आवश्यकताअनुसारको चाँदी आयात हुन्थ्यो । तर, पछिल्लो दिनहरूमा चाँदीको आयातले गर्दा व्यवसायीहरूलाई नै चकित बनाएको छ ।

हाल बजारमा चाँदीको माग सामान्य अवस्थामा ३ सय केजी र मौसमको समयमा ५ सय केजी रहेको छ । बजारमा उक्त माग भएको अवस्थामा आयातकर्ताले उच्च आयात गरेपछि व्यवसायीहरूले नै प्रश्न उठाएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले मागभन्दा बढी चाँदी आयात भएकाले व्यवसायीहरूमा नयाँ तरंग सिर्जना भएको बताए । ‘हाल बजारमा बढीमा ५ सय केजी माग हो । तर, अहिलेको अवस्था हेर्दा मागभन्दा ५,६ गुणा बढी चाँदी आयात भएकाले व्यवसायीको ध्यानाकर्षण भएको छ,’ उनले भने । साथै, त्यसमा व्यवसायीहरू आफै चिन्तितमा रहेका छन् ।

सरकारको कमजोरीले उच्च विन्दुमा चाँदी आयात
बजारमा अत्यधिक विलासिताका चाँदी भएकोमा सरकार आफै जिम्मेवार रहेको व्यवसायीहरूले बताएका छन् । सुनमा कोटा तोके पनि चाँदी खुल्ला रुपमा बिक्री वितरण हुने गर्दछ । सरकारले उक्त चाँदी आयात गर्नको लागि डलर खर्चिनु पर्दछ ।

दैनिक ५ सयभन्दा बढी खर्च नहुने भएकाले महासंघले केही वर्षअघि नै सोभन्दा बढी आवश्यक नभएकाले डलर खर्चका लागि कडाई गर्ने बताएका थिए । तर, सरकारले चाँदीको आयातमा पनि नियन्त्रण गर्नुपर्ने हेक्का नराख्दा अहिले समस्या सिर्जना भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य बताउँछन् ।

‘सरकारले डलर खर्च गरेर आयात गर्नुपर्ने अवस्थामा आवश्यकताभन्दा बढी विलासिताको वस्तुको आयातमा कडाई गर्नुपर्छ । तर, नेपालले उक्त विषयलाई ध्यान नराख्दा शोधानान्तरमा दबाब पर्न थालेको छ,’ उनले भने ।

सरकारको काम भनेको नियन्त्रण गर्ने हो । सरकारले नबिग्रिएसम्म चुपो लागेर हेरेर बस्ने र बिग्रिसकेपछि व्यवसायीलाई दोष दिने प्रचलन रहेको उनले उल्लेख गरे । बजारमा सुनको माग हुँदा पर्याप्त पाइरहेको छैन । तर, चाँदी उल्लेख्य रुपमा आयात भएको छ । त्यसैले, चाँदीलाई नियन्त्रण गरेर सुनको आयातलाई जोड दिनुपर्ने उनले जिकिर गरे ।

सरकारको लापरवाहीले नै उच्च रुपमा चाँदी आयात छ । सरकारले छिटोभन्दा बढी छिटो नियन्त्रण गर्नुपर्ने उनले जिकिर गरे । तर, सरकारले अहिले पनि वास्ता नगरे आगामी दिनमा व्यापारघाटामा भयावह स्थिति सिर्जना हुने उनको बुझाई छ ।

साथै, उक्त आयातित चाँदी कालोबजारीमा गरी बाहिँरिँदै गरेको व्यवसायीहरूको अनुमान छ ।

उच्च आयातित चाँदीमा कडाई गर्न महासंघको ध्यानाकर्षण
दुई महिनाकै अवधिमा बजारलाई आवश्यकभन्दा बढी चाँदी आयात भएपछि व्यवसायीहरूले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरूले उक्त आयातित सम्पूर्ण चाँदी बजारमा खपत हुन नसक्ने अनुमानका साथ आयातकर्ताले किन यति धेरै चाँदी आयात गरिरहेका छन् भन्नेबारे अध्ययन गर्नको लागि ध्यानाकर्षण गरेको महासंघका वर्तमान अध्यक्ष शाक्यले जानकारी दिए ।

‘दुई महिनाकै अवधिमा साढे ६ अर्ब बढीको चाँदी आयात भएको छ । त्यसमा हामी आफै चिन्तित छौं,’ उनले क्लिकमान्डूसँग भने, ‘राष्ट्र बैंकलाई चाँदीको आयातमा कडाई गर्नुपर्छ भनेर ध्यानाकर्षण गरेका छौं ।’

यदि व्यवसायीको मागअनुसार आयात गर्ने हो भने त्यति धेरै खपत नहुने व्यवसायीहरूको तर्क छ । त्यसैले, आयातकर्ताहरूले आन्तरिक रुपमा चाँदी आयात गरी के–कस्ता कार्यमा संलग्न छन् त्यसबारे अध्ययन गर्नुपर्ने उनले जिकिर गरे ।


क्लिकमान्डु