भारतमा ऊर्जा संकटः आगामी हिउँदमा नेपालमा देखिनेछ यस्तो असर, के गर्दैछन् कुलमान ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हालको विवरणका आधारमा हेर्ने हो भने आगामी हिउँदमा बिजुलीको कूल माग १ हजार ८०० मेगावाटभन्दा माथि पुग्ने देखिन्छ ।
हाल प्राधिकरणको प्रणालीमा १ हजार ७२३ देखि १ हजार ७३० मेगावाटको हाराहारीमा बिजुलीको कूल माग रहेको छ ।
मनसुन अन्तिम चरणमा रहेकाले पनि नदीमा पानीको मात्रा उल्लेख्य रहेकाले नेपाल विद्युत् प्राधिकरण र निजी उद्यमीको विद्युत् उत्पादन केन्द्रले कूल जडित क्षमता अनुसार नै बिजुली उत्पादन गरिरहेका छन् ।
नदीमा जलस्तर बढी भएकाले जडित क्षमताभन्दा बढी नै बिजुली उत्पादन हुँदा झण्डै ४०० मेगावाट बराबरको बिजुली खेर गएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कूल ४५६ मेगावाट बिजुली थप भएपनि प्रणालीमा कूल जडित क्षमता २ हजार मेगावाट पुगेको हो ।
सरकारको घोषणालाई पत्याउने हो भने चालु आवको अन्त्यसम्म प्रणालीमा थप १ हजार ३२५ मेगावाट बराबरको बिजुली थप हुनेछ । सरकारले भनेको माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढीको विद्युत् गृह तयार भएपनि प्रसारण लाइनको अभावमा बिजुली जोडन नसकिने अवस्था छ ।
चिलिमे त्रिशुली २२० केभी क्षमताको प्रसारण लाइनको ठेकेदार मुडभरी एण्ड जोशीले हालसम्म टावरको फाउण्डेन समेत खनेको छैन ।
उता त्रिशुली थ्री बी सवस्टेशन र चिलिमे सवस्टेशनको काम प्रभावकारी भएको छैन । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । यस्तै, माथिल्लो साञ्जेन १४.८ मेगावाट क्षमताको आयोजना हो भने तल्लो साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना हुन् ।
ती आयोजना जोडिएपनि हिउँदमा बिजुलीको प्रणालीलाई स्थिर राख्न र बिजुली उपलब्ध गराउन सहयोग पुग्ने थियो । सरकारको योजनामा समेटिएको १०२ मेगावाट क्षमताको मध्यभोटेकोशीको पनि हालत उस्तै छ ।
ठेकेदारको कमजोर कार्यसम्पादनका कारण चालु आवमा सकिने अवस्था छैन । सोलु करिडोरमा रहेका आयोजनाको निर्माण सकिने भएपनि प्रसारण लाइनको अभावमा बिजुली जोडन मुस्किल पर्ने देखिन्छ ।
उदयपुरमा स्थानीयबासीले अवरोध गरेका कारण १३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनको निर्माण सकिन मुस्किल पर्ने देखिन्छ ।
यो तथ्य यसकारण पनि महत्वपूर्ण छ कि यतिबेला प्रणालीमा मनग्य बिजुली उपलब्ध भयो भनेर प्राधिकरण दंग छ । समस्या संघारमा आइसकेको छ ।
आगामी मंसिरको दोस्रो सातादेखि प्रणालीमा चाप पर्न थाल्नेछ । किनकी, नदीमा जलस्तर घटन थाल्नेछ । माग भने उत्तिकै रहनेछ । आव २०७७÷७८ मा प्राधिकरणले भारतबाट झण्डै ८०० मेगावाट बिजुली आयात गरेको थियो ।
यस पटक भारतबाट बिजुली आयात हुन मुस्किल पर्ने देखिन्छ । किनकी भारतमा कोइला प्रकरणका कारण बिजुली उत्पादन र वितरणमा चरम समस्या देखिएको छ ।
भारत आफैमा ठूलो कोइला उत्पादक देश भएपनि यतिबेला समस्यामा परेको छ । अष्ट्रेलिया र इण्डोनेसियाबाट कोइला आयात हुन समस्या परेको छ ।
कोइलाको मूल्य एकातिर बढेको छ भने अर्कोतिर कोइला उपलब्धतामा समस्या परेका कारण भारतमा बिजुली उत्पादनमा कटौती भएको छ । त्यसको मारमा भारतको केन्द्रीय राजधानी दिल्ली समेत परेको छ ।
दिल्लीका मुख्यमन्त्री अरवन्दि केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर बिजुली प्रणालीमा समस्या आउन लागेकाले समस्या समाधानका लागि आग्रह गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्राधिकरणले हालसम्म कुलेखानी जलाशयको पानी चलाएको छैन । निरन्तर वर्षा भएकाले कुलेखानी जलाशय १ हजार ५३० मिटरको हाराहारीमा रहेको छ । यो भनेको हिउँदमा प्रर्याप्त मात्रामा प्रयोग गर्न सकिने क्षमता हो । कुलेखानीमा ३ वटा आयोजना छन् ।
त्यसबाट क्रमशः पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ । यतिबेला निजी क्षेत्रका १०८ आयोजनाले पनि पूर्ण क्षमतामा नै बिजुली उत्पादन गरेको छ ।
विशेष गरी असोज, कात्तिक महिना प्राधिकरणको प्रणालीमा कुनै अवरोध पनि आउँदैन । सोही कारण प्रणाली स्थिर रहन्छ । कुनै पनि अवरोधको सामना गर्नुपर्दैन ।
प्राधिकरणको भार प्रेषण केन्द्रको विवरण अनुसार आइतबार प्राधिकरण १० हजार ७१६ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।
यस्तै प्राधिकरणका सहायक कम्पनीमार्फत् ९ हजार २४५ मेगावाट घण्टा बिजुली उपलब्ध छ । निजी क्षेत्रका आयोजनाबाट १२ हजार ८६७ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।
भारतबाट १२८ मेगावाट घण्टा आयात हुँदा ३ हजार २८२ मेगावाट घण्टा बिजुली निर्यात भइरहेको छ । यस्तै, कूल माग ३२ हजार ९५६ मेगावाट घण्टा छ । यसलाई मेगावाटमा हेर्दा कूल माग १ हजार ६०९ मेगावाट रहेको छ ।
नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको भएपनि भारतले बर्षायामको बिजुली लिन अटेर गरेको छ । उसको ध्येय आयात होइन, निर्यात मात्रै गर्ने भन्ने देखिएको छ । तर, आगामी हिउँदमा त्यसको मार नेपाल समेत पर्ने सम्भवना देखिएको छ ।
किनकी गत हिउँदमा ८०० मेगावाट आयात गरेको प्राधिकरणले आगामी हिउँदमा मागे अनुसारको बिजुली पाउने सम्भावना असाध्यै न्यून रहेको छ । किनकी, आफैमा कमी भई भई भारतले नेपाललाई बिजुली दिने छैन ।
नेपालले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलगायत विभिन्न ११ स्थानबाट बिजुली आयात गरिरहेको छ ।
त्यसमा बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट जोडिएको बिजुली नेपालको प्रणाली स्थिर राख्न अझै महत्वपूर्ण रहेको छ । भारतमा नै बिजुली नएपछि वा भएपनि महंगो पर्ने भएपछि त्यसको मार नेपालको घर घरसम्म पुग्नेछ । यतिबेला भारतमा एक यूनिट बिजुलीको मूल्य झण्डै २२ रुपैयाँ बराबर पुगेको छ ।
कोइलाको उपलब्धतामा कमी आउने र मूल्य बढेर आउँदा पक्कै पनि नेपालमा आयात हुने बिजुलीको मूल्य समेत बढेर आउनेछ । यो त बिजुलीको पाउँदाको अवस्थामा हो । बिजुली नै नपाएको अवस्थामा झनै विकराला बन्ने छ ।
हिउँदका लागि प्राधिकरणले कुलेखानी जलाशयबाट पूर्ण क्षमतामा १०४ मेगावाट उपलब्ध गराउने छ । यस्तै, दिनभर बिजुली उत्पादन नगरेको अवस्थामा मात्रै माथिल्लो तामाकोशीले साँझको समयमा मात्रै ४५६ मेगावाट बराबरको बिजुली उत्पादन गर्न सक्छ । त्यो भनेको ४ घण्टा मात्रै हो ।
यस्तै, कालीगण्डकी, मध्यमस्र्याङदी, मध्य मस्र्याङदी जस्ता आयोजना दिउँसो नचलाएको अवस्थामा मात्रै साँझ बिजुली पूर्ण क्षमतामा उत्पादन हुन सक्छ । निजी क्षेत्रका अधिकांश आयोजनाले पूर्ण क्षमताको एक तिहाई मात्रै बिजुली उत्पादन गर्न सक्छ ।
आन्तरिक रुपमा झण्डै १ हजार मेगावाट मात्रै बिजुली हिउँदमा उपलब्ध हुन सक्छ । यसो हुँदा प्रणाली नै चलाउन र सबैलाई बिजुली उपलब्ध गराउन थप ७५० मेगावाटदेखि ८०० मेगावाटसम्म बिजुली आवश्यक पर्छ । भारतमा नै बिजुली नपाएको अवस्थामा नेपालले आगामी हिउँदमा ठूलो समस्या खेप्नुपर्ने अवस्था देखिएको छ ।
यसको तयारी के भइरहेको छ भन्ने बारेमा प्राधिकरणले कुनै प्रतिक्रिया दिएको छैन । सरकारको पनि यसमा कुनै तयारी देखिदैन ।