यस्तो बजार जहाँ किलोका आधारमा फुटपाथमा बिक्री हुन्छ करोडाै रकम



दशैंका लागि नयाँ नोट फुटपाथमा साट्न बस्नेहरु तपाईं हामीले देखेकै दृश्य हो । दशैंमा नयाँ नोट साट्न बैंकसम्म जान नसक्नेहरु बाटोमा नाङलोमा राखिएका यस्ता नोटहरु निश्चित रकम कमिसन दिएर साट्दै गरेको देख्न सकिन्छ । हाम्रोमा यो दशैं शुरु हुनुभन्दा केही दिन अघि मात्रै देखिन्छ ।

तर विश्वको एउटा यस्तो देश छ जहाँ करोडौं रकम बिक्री गरिन्छ । त्यो पनि बाटोमा सामान्य पसल राखे झैं पैसाका गड्डीहरु राखेर ग्राहक कुरिन्छ ।

हामीले बजारमा गएर तरकारी, फलफूल खरिद गरे जस्तै गरी सोमालियाका सडकमा केजीका हिसाबले पैसा बिक्री गरिन्छ । मानिसहरु बजारमा पैसाको थुप्रो लगाएर बिक्री गर्दै गरेको देखिन्छ । १५० डलर हुने हो भने १० लाख सोमाली सिलिङ साट्न सकिन्छ । यतिसम्म कि प्रार्थनाको समयमा मानिसहरुले पैसाको पसल त्यत्तिकै छाडेर समेत जानछन् ।

सोमालियाको पैसाको मूल्य असाध्यै कमजोर भएपछि मानिसहरुले पैसाका गड्डी नै बिक्री गर्न थालेका हुन् । यहाँ विशेष गरी डलर तथा अन्य मुद्रासँग खुलेआम साटिन्छ । एउटा ब्रेड किन्न पनि लाखौं रुपैयाँ बोकेर बजार जानुपर्ने अवस्था छ । मानिसहरु ठेलामा खुलेआम करोडौं रकम बिक्री गरिरहेको देख्न सकिन्छ ।

गृहयुद्धबाट आक्रान्त भएको यो मुलुकको अर्थतन्त्र निकै कमजोर बनेको छ । रोजगारीको दर कमजोर छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै ६०.२ प्रतिशत छ भने प्रतिव्यक्ति आय ३४८ डलर छ । यहाँको कुल ग्राहस्थ उत्पादन वृद्धिदर ३.७ प्रतिशत मात्रै छ ।

सोमलियाको मुद्रा कमजोर हुँदा पैसा बोकेर हिँड्नु गाह्रो काम हो । अर्थतन्त्र कमजोर हुँदा त्यहाँको मूल्य समेत असाध्यै कमजोर भएको छ । जसका कारण नगद बोक्ने चलन हराउँदै गएको छ ।

अशिक्षा र गरिबीको चपेटामा परेको सोमालियामा नगद बोक्न सक्ने अवस्था नभएपछि मानिसहरुले मोबाइल बैंकिङ तथा वालेटको प्रयोग बढाएका छन् ।

नगद झिक्न मिल्ने एटीएमको प्रयोग हुन छाडेपछि अधिकांश जनसंख्याले अहिले मोबाइल बैंकिङ प्रयोग गर्न थालेका छन् ।

त्यहाँका दुई निजी कम्पनीले पैसाको कारोबारलाई सहज बनाउनका लागि मोबाइल बैंकिङ तथा वालेटको प्रयोग बढाएका छन् । हाल सोमालियामा ६० प्रतिशतभन्दा बढी कारोबार मोबाइल बैकिङमार्फत् हुन थालेको छ ।


क्लिकमान्डु