स्मार्टफोनको बजारमा हिस्सा बढाउँदै रियलमी, एक महिनामै बिक्यो ५० हजार थान



काठमाडौं । स्मार्टफोन बजारमा पछिल्लो समय प्रवेश गरेको रियलमीले पहिलो महिनामै आक्रामक व्यापार गरेको छ । लामो समयदेखि सामसुङ, शाओमी जस्ता ब्राण्डको प्रभुत्व रहेको नेपाली बजारमा रियलमी ब्राण्डको प्रवेशलाई उपभोक्ताले रुचाएका छन् ।

कम्पनीका अनुसार सेप्टेम्बर महिनामा मात्रै कम्पनीले करिब ५० हजार सेट स्मार्टफोन बिक्री गरिसकेको छ । यो हिसाबले कम्पनीले सेप्टेम्बर महिनामा मात्रै १३ प्रतिशत बजार हिस्सा ओगटेको छ । रियलमी सेप्टेम्बर महिनामा सामसुङ र शाओमिपछि सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने ब्राण्ड समेत बनेको छ ।

कम्पनीले हाल १२ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँ रेञ्जमा पर्ने अन्य मोबाइलको तुलनामा राम्रो व्यापार गरेको बताएको छ । जसमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको उक्त सेग्मेन्टमा रियलमीले मात्रै ४० प्रतिशतभन्दा बढी व्यापार गरेको कम्पनीको दाबी छ ।

कम्पनीले हाल १२ हजार रुपैयाँदेखि अधिकतम २८ हजार रुपैयाँसम्म पर्ने स्मार्टफोन बजारमा उपलब्ध गराएको छ ।


कम्पनीका अनुसार अहिले माग अनुसारको आपूर्ती गर्न सकिएको छैन । कम्पनीले हाल देशभरका १ हजार १ सय रिटेलरमार्फत् रियलमीको बजार बिस्तार गरिरहेको छ । अब कम्पनीले छिट्टै २३ सय वटै रिटेलरमार्फत् काम गर्ने योजना बनाएको छ ।


हाल रिटेलरबाट माग अत्यधिक भए पनि आपूर्ती गर्न नसकेको कम्पनीको भनाइ छ ।

‘बजारमा अत्यधिक माग आइरहेको छ, तर सोअनुसार मागलाई सम्बोधन गर्ने गरी आपूर्ती गर्न सकिएको छैन,’ कम्पनीका एक अधिकारीले भने ।


शुरुवाती चरणमा उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साही बनेको कम्पनीका अधिकारीहरु बताउँछन् । जसका कारण कम्पनीले अब छिट्टै दुई नयाँ मोडल पनि ल्याउने तयारी गरेको छ । जसमा ४८ हजार रुपैयाँ पर्ने जीटीएमसी र ६० हजार रुपैयाँ पर्ने जीटी सेट ल्याउन लागेको हो ।


रियल मीका लागि नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुपले गत साउन १५ गतेदेखि औपचारिक रुपमा यो ब्राण्डलाई बजारमा ल्याएको हो । भारतमा सर्वाधिक बिक्री हुने मध्येको रियल मी स्मार्टफोनको बजार हिस्सा करिब १५ प्रतिशत छ ।


मध्यमवर्गीय लक्षित यो स्मार्टफोन नेपालमा पनि सर्वाधिक रुचाइने कम्पनीको विश्वास छ ।


रियलमी शुरुवातमा ओप्पोको सब-ब्राण्डका रुपमा स्थापित भए पनि पछि यसलाई छुट्टै ब्राण्डका रुपमा स्थापित गरिएको थियो । पछिल्लो समय भारतीय बजारमा समेत यो ब्राण्डले बजार हिस्सा बढाउँदै लगेको छ ।


क्लिकमान्डु