करिब ३ खर्बमा टाटाले किन्यो एयर इन्डिया, ६८ वर्षपछि घर फर्कियो विमान



भारत सरकारले एयर इन्डिया टाटा ग्रुपलाई बिक्री गरेको छ । भारत सरकारले १८ हजार करोड भारु अर्थात २ खर्ब ८८ अर्ब रुपैयाँमा टाटा ग्रुपलाई विमान बिक्री गरेको हो ।

टाटा ग्रुपले ६८ वर्षपछि टाटाको स्वामित्व फेरि आफैले लिएको छ । टाटाले सन् १९३२ मा शुरु गरेको विमान पछि भारत सरकारले खरिद गरी एयर इन्डियाको नाम दिएको थियो ।

भारत सरकारले विमान लिलामी गर्ने घोषण गरेपछि पछिल्लो पटकमा टाटाका साथै स्पाइस जेटका अध्यक्ष अजय सिंहले पनि बोली लगाएका थिए । जसमा टाटाले सिंहको तुलनामा ३ हजार करोड बढी बोली लगाएका थिए ।

सन् १९३२ मा टाटाले शुरु गरेका थिए एयर इन्डिया
एयर इन्डिया विमान सन् १९३२ मा टाटा ग्रुपले नै शुरु गरेको थियो । टाटा ग्रुपका जे. आर. डी टाटा यसका संस्थापक थिए । उनी आफै पनि पाइलट थिए । तत्काली समयमा यो विमानको नाम टाटा एयर सर्भिस राखिएको थियो । सन् १९३८ सम्म कम्पनीले आन्तरिक उडान शुरु गरिसकेको थियो । दोस्रो विश्वयुद्धपछि यसलाई सरकारी कम्पनी बनाइएको थियो । भारत स्वतन्त्र भएपछि सरकारले विमानको ४९ प्रतिशत हिस्सा खरिद गरेको थियो ।

मुम्बईको अफिस पनि डिलमा
यो सम्झौताअनुसार एयर इन्डियाको मुम्बईस्थित मुख्य कार्यालय तथा दिल्लीको एयरलाइन्स हाउस पनि संलग्न छन् । मुम्बईको अफिसको बजार मूल्य १५०० करोड भारुभन्दा बढी छ । अहिलेको समयमा एयर इन्डियाले भारतभर ४४०० तथा विदेशमा १८०० ल्यान्डिङ तथा पार्किङ स्लट नियन्त्रण गर्दछ ।

ठूलो ऋणमा डुबेको कम्पनी
एयरलाइन्स ठूलो ऋणको चंगुलमा फसेपछि भारत सरकारले लामो समयदेखि बिक्री गर्ने योजना बनाएको थियो । तर यसअघिका कैयन पटक सरकार बिक्री गर्नका लागि असफल भएको थियो । भारत सरकारले सन् २०१८ मा ७६ प्रतिशत सेयर बिक्री गर्नका लागि आह्वान गरेको थियो । तर तत्कालीन समयमा व्यवस्थापन आफ्नै नियन्त्रणमा राख्ने बताएको थियो । तर यो सर्तमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि भारत सरकारले व्यवस्थापनका साथै शतप्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

सन् २००० देखि बिक्री गर्ने प्रयास
भारत सरकारले सबैभन्दा पहिले सन् २००० मा एयर इन्डिया बिक्री गर्ने निर्णय गरेको थियो । तत्कालीन समयमा अटल बिहारी बाजपेयीको नेतृत्वमा रहेको राष्टिय जनतान्त्रिक गठबन्ध सरकारले मुम्बईको सेन्टार होटलसहित कैयन कम्पनीमा लगानी गरिएको थियो । तत्कालीन समयमा अरुण शौरी विनिवेश मन्त्री थिए । सन् २००० मे २७ मा सरकारले एयर इन्डियाको ४० प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

त्यसका साथै भारत सरकारले १० प्रतिशत सेयर कर्मचारीलाई बिक्री गर्ने र १० प्रतिशत घरेलु वित्तीइ संस्थानलाई सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसो हुँदा सरकारको हिस्सेदारी ४० प्रतिशतमा सीमित हुन्थ्यो । यद्यपि त्यो समयदेखि २१ वर्षसम्म एयर इन्डिया बिक्री गर्ने कैइन प्रयास भए । तर कुनै न कुनै कारणले असफल भइरहेको थियो ।


क्लिकमान्डु