चीन र भारतमा चरम ऊर्जा संकट, के होला अर्थतन्त्र ?



एजेन्सी । नेपालका २ छिमेकी देश चीन र भारतमा चरम ऊर्जा संकट देखा परेको छ । पछिल्ला दिनमा कोइलाका आधारित ऊर्जा उतपादन केन्द्रहरुमा कोइलाको अभाव भएपछि ऊर्जा संकट गहिरिएको हो ।

अमेरिकाले अदृश्यरुपमा कोइलाको निर्यातमा अष्ट्रेलियालाई दबाव दिएको समाचार पनि सार्वजनिक भएको छ । यस्तै इण्डोनेसियामा बर्षाका कारण कोइला उत्खननमा समस्या देखिएको छ ।

समाचार विवरणहरुमा जनाइएअनुसार भारतका १३५ कोइलामा आधारित विद्युत् गृहहरूमा कोइला निकै कम मात्रामा रहेको छ । कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता पनि व्यक्त भएको छ ।

बीबीसीका अनुसार कोरोनाको दोस्रो लहरपछि भारतको अर्थतन्त्र क्रमशः उकालो लाग्न थालेपछि ऊर्जाको माग पनि ह्वात्तै बढेको थियो ।

पछिल्ला २ महिनामा मात्रै सन् २०१९ को त्यही दुई महिनाको तुलनामा ऊर्जा खपत १७ प्रतिशतले बढन पुगेको छ । यही समयमा विश्वभरि कोइलाको मूल्य ४० प्रतिशतले बढेको छ । भारतमा कोइलाको आयात पछिल्ला दुई वर्षको तुलनामा असाध्यै कम हुन पुगेको छ ।

बीबीसीका अनुसार विश्वकै चौथो ठूलो कोइला खानी भएको देश भए पनि भारत विश्वको दोस्रो ठूलो कोइला आयातकर्ताको रुपमा स्थापित छ । आयातित कोइलामा भर पर्ने विद्युत् गृहहरू अहिले भारतीय कोइलामा भर परेका छन् जसले घरेलु कोइला मागमा समेत थप चाप परेको देखिन्छ ।

यतिबेला ठूलो परिमाणमा कोइला आयात गर्नु नै उत्तम विकल्प भएको बताइन्छ । यस्तो संकट कायम रहेको खण्डमा विद्युत् खर्च बढ्न जाने देखिन्छ । भारतमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि ऊर्जाका कारण बढन पुगेको छ ।

पछिल्ला केही वर्षदेखि भारतले जलवायु लक्ष्य प्राप्तिका लागि कोइलामा निर्भरता घटाउने कार्य अगाडि बढाउँदा विद्युत् उत्पादन घटेको छ । यो अवस्था रहिरहे एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकले यथास्थानमा फर्कन खास संघर्ष गर्नुपर्ने देखिन्छ ।

समस्या आउन नदिन भारतको ८० प्रतिशत कोइला आपूर्ति व्यवस्थापन गर्ने कोल इन्डिया र अन्य सरोकारवालाले आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ ।

उता चीनमा पनि अवस्था त्यस्तै छ । दशौँ लाख घर र व्यवसायलाई प्रभावित बनाएको गम्भीर ऊर्जा संकटको चपेटामा चीन परेको छ ।

हिउँद आउन लाग्दा सबैभन्दा गम्भीर समस्या चीनको उत्तरपूर्वी औद्योगिक क्षेत्रमा देखिएको छ र यसको असर बाँकी विश्वमा पनि देखा पर्न थालेको छ ।

विगतमा पनि विद्युत् आपूर्तिमा सन्तुलन मिलाउन चीनले प्रयास गर्दै आएको थियो । जसका कारण कैयौँ प्रान्तहरूमा बिजुली आपूर्ति हुन नसक्ने जोखिम थियो ।

बीबीसीका अनुसार ऊर्जाको माग उच्च हुने गर्मी र हिउँद याममा सबैभन्दा खराब अवस्था आएको छ । महामारीपछि विश्व खुला हुन लाग्दा चिनियाँ वस्तुहरूको माग बढिरहेको छ ।

तर, ऊर्जा संकटका कारण समस्या गहिरिदै गएको छ । ऊर्जाका लागि चीनको आधा भन्दा बढी भूभाग अझै पनि कोइला नै निर्भर छ ।

चीनमा बढी बिजुली चाहिने स्टिल, सिमेन्ट र मल उद्योगहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि उसले यो वर्ष चीनको अर्थतन्त्र ८.२ प्रतिशतले विस्तार हुने बताइएको भएपनि अब घटेर ७.८ प्रतिशतमा झर्ने देखिएको बीबीसीले जनाएको छ ।


क्लिकमान्डु