पहिलेजस्तो रहेन दशैं, उपत्यका छाड्ने मानिसको संख्या न्यून



काठमाडौं । सरकारले गत असोज ११ गतेबाट दशैंमा घर जानका लागि लामो र माध्यम दुरी सवारी साधनको टिकट बुकिङ खुलिसकेको छ । टिकट बुकिङ खुलेको १० दिन बितिसक्दा पनि बसपार्कमा खासै छलपहल हुन सकेको छैन ।

सामान्य अवस्थामा टिकट बुकिङ खुल्ला गर्ने वित्तिकै दशैंमा घर जानका लागि टिकट बुकिङ गर्नेको भीडभाड हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा टिकट बुकिङ गर्ने बसपार्कमा खालीखाली देखिएको यातायात व्यवसायीहरू बताउँछन् ।

आजबाट दशैं शुरु भएको छ । तर, दशैं आए पनि पहिलेको जस्तो रौनक नभएको व्यवसायीहरूको भनाई छ । सामान्य अवस्थामा उपत्यकाबाट नौरथ शुरु भएदेखि १५ लाखदेखि २० लाख मानिसले राजधानी छोड्ने गर्दथ्यो ।

त्यसमा मानिसहरूले अग्रिम बुकिङ गरेर घटस्थापनाभन्दा ३,४ दिन अगासिडदेखिनै दैनिक १ लाख बढी बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरी महासंघको तथ्याङ्कमा थियो ।

यो वर्षको दशैंमा भने सामान्य दिनहरूको जस्तै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जिव शर्मा दास बताउँछन् । उनकाअनुसार केही दिन अगाडिसम्म उपत्यका छाड्नेभन्दा उपत्यकामा भित्रिनेको संख्या बढी थियो । तर, अहिले भने केही मात्रामा बढेको छ ।

गत असोज ११ गतेदेखि आजसम्ममा ३ सय ७७ हजार उपत्यका भित्रिएका छन् भने ४ लाख २ हजार यात्रुले उपत्यका छाडेको छन् । उक्त संख्या भने निकै न्यून रहेको उनको बुझाइ छ । असोज ११ गतेदेखिको तथ्याङ्क हेर्दा दैकिक करिब ४० हजार यात्रुहरूले उपत्यका छाडेको पाइन्छ । सो संख्या भनेको दैनिकजसो उपत्यकाबाहिर जानेको संख्या रहेको महाशाखाले उल्लेख गरे ।

उक्त अवधिमा ६६ हजार ८ सय २४ वटा सवारी साधन भित्रिएको छ भने ६७ हजार ४ सय ३१ वटा सवारी साधन बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


क्लिकमान्डु