टिकटक: विज्ञापन र व्यापारको हटस्पट बन्दै, लाइभबाट मनग्गे कमाइ



काठमाडौं । सन् २०१६ को अन्त्यतिर आधिकारिक रुपमा टिकटक सार्वजनिक गर्दा त्यसको माउ कम्पनी वाइडडान्सलाई पनि लाग्दैन थियो कि आफ्नो प्रडक्ट यतिधेरै लोकप्रिय होला भनेर । उसलाई पनि त्यस्तो अनुमान थिएन, जुन आज आएर सही सावित भएको छ ।

विश्वमा मनोरञ्जनको एउटा माध्यमका रुपमा लिइएको टिकटक यतिबेला संसारभर नै एउटा व्यवसायको रुपमा स्थापित भइसकेको छ । पछिल्ला दिनमा त यो विज्ञापन र व्यापारको एउटा हटस्पट नै बनेको छ ।

चारपाँच बर्षको दौरानमा विश्वका करोडौं मानिस मात्रै नभई धेरै जसो कम्पनीहरु यसको सुपर फ्यान भएका छन् । विश्व बजारको आकाँडा हेर्ने हो भने ८५० मिलियनले यो एप डाउनलोड गरिसकेका छन् । ८०० मिलियन मानिस सक्रिय प्रयोगकर्ता रहेका छन् ।

यसरी हेर्दा संसारका धेरै मानिसहरु आज टिकटकसँग आफ्नो दैनिकी मात्र नभइ व्यापार पनि बढाइरहेका छन् भन्दा फरक नर्पला ।

संसार नै डिजिटल युगमा प्रवेश गरिसकेको छ । २० मिनेट लगाएर एक समसायामिक स्तरीय आलेख पढ्ने र हेर्ने फुर्सद जो कोहीलाई कहाँ हुन्छ र ? त्यसको सट्टा १५ सेकेण्डको टिकटक भिडियो क्लिपको मज्जा नै बेग्लै हुन्छ । कतिपयले त टिकटक हेर्ने बित्तिकै पाइने सस्तो मनोरञ्जनले तनाव कम गराएको सत्यतालाई पनि नकार्न सकिदैन ।

पछिल्लो समय नेपालमा पनि गज्जबको लोकप्रियता बढेको छ यसको । हुनत टिकटकमा बढी रम्नेमा टिनएजर्सको जमात देखिए पनि सबै उमेरका व्यक्तिको लागि यो ‘सुगर रोगको लागि इन्सुलेसन’ जस्तै एडिक्सन भइसकेको छ ।

विशेषतः फेसबुक र इन्स्ट्रग्राममा टिकटक भिडियो अहिले निकै लोकप्रिय बनेका छन् । नेपालबाहेक अन्य थुप्रै देशमा पनि यसको लोकप्रियता बढ्दो छ । यो एप शुरु भएको केही महिनामै विश्वमा लाखौं मानिसले यसको प्रयोग गरेका थिए ।

विद्यार्थीदेखि फरक पेशा, व्यवसायमा संलग्न सबै यो एपमा रमाउन थालेका छन् । सेलिब्रिटीको तुलनामा सर्वसाधारण नै टिकटकमा बढी हिट भइरहेका छन् ।

हाल व्यवसायी र सम्वद्ध कम्पनीहरु आफ्नो व्यापार र उत्पादन टिकटकमै बेच्ने गरेका छन् ।

एउटा स्मार्टफोन अनि इन्टरनेट । आफै एक्टर, आफै डाइरेक्टर सबै आफै हुनपाइने सुविधा । खर्च कम लाग्ने अनि विज्ञापनको ठूलो सञ्जाल पनि पाइने ।

अझ म्यूजिक भिडियोको प्रचारका लागि त टिकटक सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प बनेको छ । त्यति मात्रै होइन, टिकटकबाटै सेलिब्रेटी बनेकाहरुको पनि अहिले कमी छैन ।

लाइभबाटै आम्दानी

टिकटक हेर्नुहुन्छ भने अंश वर्मा नाम त सुन्नु भएकै होला । उनले टिकटकमा लाइभ बसी प्राप्त गिफ्ट नै १ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । उनकै भनाइ पत्याउने हो भने उनले २ वटा घर यसैको आम्दानीबाट कमाइ सकेका छन् ।

त्यसैगरी युट्युवमा भाइरल पुण्य गौतम पनि अहिले हरेक दिन हरेक समय जसो लाइभमै भेटिन थालेका छन् । उनले शुरुको दिनको ५ घण्टाको कमाइ मात्रै ४० हजार रुपैयाँभन्दा बढी भएको अन्तर्वार्ता दिँदै आएका छन् ।

टिकटक लाइभबाट मनग्गे आम्दानी हुन थालेपछि अहिले जो कोही पनि टिकटकमा लाइभ बस्ने र गिफ्ट माग्ने गर्न थालेका छन् । उसो त यो खेलमा टिकटकका नयाँ प्रयोगकर्ता मात्रै होइन सेलिब्रेटी कलाकार समेत छन् । सबैजसो तछाडमछाड गर्दै लाइभमा आउने र गेम खेल्न थालेका छन् । कसैलाई कार त कसैलाई चस्मा उपहार चाहिएको छ ।

विज्ञापन मात्र नभइ व्यापार पनि
हाल टिकटक विज्ञापनको राम्रो प्लेटफर्म भएको छ । हरेक साना ठूला व्यापारी आजकल टिकटकमा जोडिन थालेका छन् । सोही कारण टिकटक एकदमै राम्रो माध्यम बनेको छ । सबैका सामू पुग्ने र खर्च पनि नलाग्ने कारण यसको लोकप्रियता झनै बढेको छ ।

विज्ञापन बनाउने संस्थाहरुलाई विज्ञापन हाल्न दिनका लागि धेरै महंगो पर्ने भएकाले सित्तैमा विज्ञापन गर्न पाइने प्लेटफर्म बेनेको छ यो । किन पैसा तिरेर विज्ञापन गर्ने समेत उनीहरुको सोच विकास भएको छ ।

एकजनाले लगाएको देखेपछि सारीदेखि जुत्तासम्म आजकल टिकटकबाटै किन्न र बेच्न थालिएको छ । पसल भएका व्यापारीले आफ्नो नाममा र पसलको नाममा टिकटक खोलेर विज्ञापन गरिरहेका छन् । आफना सामानको फोटो या भिडियो चट्ट परेको व्याकग्राउण्ड धुनसहित राख्ने गरेका छन् । यसले आफ्नो व्यापार बढाँएको बाग्लुङकी झरना कँडेलको भनाइ छ ।

उनी भन्छिन्, ‘मैले पनि एकदिन साथीको टिकटकमा देखेर रातो सारी किनेको थिए । त्यही सारी लगाएर एउटा भिडियो टिकटकमा हाले । त्यसपछि मलाई म्यासेज आउन थाले । कहाँ पाउँछ ? कतिमा लिएको ? मलाई पनि चाहियो आदिइत्यादि,’ उनले थपिन्, ‘ यस्तो म्यासेज आउन थालेपछि मैले शुरुमा जहाँबाट किनेको थिए त्यहीबाट अर्डर गर्दै आफै बेच्न थाले । अहिले मेरै आफ्नै अनलाइन सप छ । विज्ञापन पनि टिकटक मै बेच्ने पनि टिकटक मै ।’

यस्तै आजकाल जमनामा नचलेका गीत, रमणीय ठाउँ, कलकलाउँदो झरना, कलकल बग्ने खोलानाला, झोलुङ्गे पुललगायतलाई टिकटकले संसार भर चिनाइ रहेको छ । यसले देशको पर्यटन व्यवसायलाई समेत सहयोग गरिरहेको छ ।

टिकटकमा देखेको भिडियो र फोटोको आधारमा आन्तरिक पर्यटक सम्बन्धित क्षेत्रमा जाने चलन बढेको छ । यसो हुँदा त्यस्ता ठाउँहरु पर्यटकीय हिसाबले बिस्तार हुदै गएका छन् ।

दाङको भाइरल रोड, तनहुँको मानुङकोट डाँडा, अम्ब्रेला सहर, इलुजन थ्रिडी आर्ट म्युजियम जस्ता ठाउँमा पुगेका आन्तरिक पर्यटकले गरेको खर्चले कोरोनाबाट थलिएको पर्यटन व्यवसायलाई केही राहत पुगेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

कसरी हुन्छ आम्दानी ?
विशेष गरी टिकटकबाट आम्दानी हुने मुख्य स्रोत अरु प्रयोगकर्ताले दिने गिफ्ट हो । जसमा प्रयोगकर्ताले क्वाइन दिन्छन् । एक डलर खर्च गर्ने हो भने ६५ क्वाइन खरिद गर्न सकिन्छ । सोही क्वाइनलाई गिफ्टमार्फत् खर्च गर्ने हो । जसमा गिफ्ट अनुसार क्वाइनको पनि फरक पर्छ ।

यदि तपाईंले गुफाब, टिकटकको लोगो पठाउँदा एउटा क्वाइन खर्च हुन्छ भने पर्म्यूम पठाउन २० क्वाइन, डफनटका लागि ३० क्वाइन खर्च हुन्छ भने सबमरिन पठाउँदा ५ हजार १९९ क्वाइन खर्च हुन्छ । त्यससैगरी पुतली पठाउँदा १६९ क्वाइन, चस्मा पठाउँदा १९९ क्वान, हर्टका लागि १९९ क्वाइन, सनग्लास पठाउँदा १९९ क्वाइन खर्च हुन्छ ।

कसरी आउँछ पैसा
टिकटकबाट गिफ्ट, हेरेको संख्या र कन्टेन्टको आधारमा पैसा प्राप्त हुने गरेको छ । तर नेपाल जस्तो देशलाई गिफ्टको आधारमा मात्र दिइने गरेको प्रयोगकर्ता दिनेश खड्काले बताए । उनी विगत ६ महिनादेखि टिकटकमा सक्रिय छन् । हाल उनी दैनिक लाइभमा बस्ने गरेका छन् ।

‘त्यसमा कसैले एक हजार पर्ने गिफ्ट पठायो भने तपाईंले जम्मा तीन सय अर्थात ३० प्रतिशत मात्र पाउनुहुने छ । ७० प्रतिशत टिकटकले आफै राख्ने गर्दछ,’ उनले भने, ‘यसबाट कमाइ भएको रकम भने नेपालमा सिधा निकाल्न मिल्दैन त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको भुक्तानी प्रणाली अपनाउनु पर्छ । उनको भनाइअनुसार हाल महिनाको एक लाखसम्म कमाई हुने गरेको छ ।

खड्का भन्छन्, ‘मलाई आजकाल हरेक ठाउँबाट फोन आउन थालेको छ । कुनै कपडा पसलले, कुनै चस्मा पसलले अफर दिइरहेका हुन्छन् । खडकालाई उनीहरुले भन्ने गर्छन हाम्रो प्रडक्ट लगाएर लाइभ बसिदिनु पर्यो ।’

विश्वका अन्य देशका नागरिक जस्तै देशभित्रै रहेका नेपालीदेखि विश्वको जुनसुकै भूगोलमा रहेका नेपाली युवायुवती सबैमा आज टिकटक एक फेसन र पैसा कमाउने माध्यम पनि बनेको छ । हरेकका घरघरमा सबै बयस्क छोरी छोराहरु मात्र नभई आमाबाबु पनि बन्द कोठामै टिकटमा रमाई रहेका हुन्छन् ।

कोही आफ्नो घरको कौशीमा टिकटकको सहारामा एक्लै उफ्री रहेको देखिन्छ भने कोही सडक तिर हातमा मोबाइल लिदै बर्बराउँदै टिकटक भिडियो सुट गरी हिँडिरहेको यत्रतत्र देखिन्छ ।

‘अचम्म लाग्छ । कहिल्यै गाँउ घर मेला पाँखा नहिँडेको छोरो, कम्मरमा खुर्पी ठ्याक कसरी भिर्ने हो बाबा ? भनेर सोध्न आउँछ,’ टिकटक चलाउने रामहरि अधिकारीका पिताले भने ।

टिकटकले जन्माएका हिस्सा
टिकटक चलाउने रमिला गिरीकी आमा भन्छिन्, ‘हुन पनि कति फेशन भाको यो टिकटक भनाउँदो । बरु गाँस छोड्छन् साथ छाडदैनन् ।

दिनको दुई/चार वटा भिडियो क्लिप नबनाई त दिन कसरी बित्ला ? फेरि कतिले हेरे ? कतिले के के कमेन्ट गरे ? त्यसको हिसाब किताब राख्न पर्यो । अझ अहिले त लाइभ बस्न पनि पाइने भएको छ । दिन गएकोसम्म पत्तो नपाउने भएको छ ।’

रमिलाकी आमा फेरि थप्छिन्, ‘दिन त के आधा रातसम्म पनि छोराछोरी केमा छन् भन्दा टिकटकमा । खाना चिसो भै सक्यो भन्दा सुन्दैनन् ।
यता अर्का टिकटक चलाउने सुमन अछामीका पिताले उस्तै कथा सुनाउँछन् । उनी भन्छन्, ‘ए छोरो ,तल झरन । अलिकति सहयोग चाहियो क्या । तर छोरो मरिगए सुन्दैन । उसको मुखबाट निष्किने शब्द भनेको ‘एक छिनपछि’ । तर त्यो एकछिन कहिल्यै आउँदैन । कारण छोरा टिकटक मै व्यस्त छ ।’

संगम आचार्यकी आमा भन्छिन्, ‘अस्ति सिमसिम पानी पर्दै थियो । भाइको कट्टु र टिसर्ट लगाएर छोरी छतमा दौडदै उक्लिइन । मैले भने नानी झरी परी रहेको छ , किन छतमा ? अनि के लुगा लाकी होेनी त्यस्तो ? सप्पै देखिने गरी ?’

उनले फेरी हाँस्दै भनिन्, ‘यत्तिका दिनदखि यही झरी त कुरी बसेको थिएँ नि आमा । सुपर हिट हिन्दी फिल्म मोहोराको गीत टिप, टिप, बर्षा पानी ! पानी मे आग लगा !! को सुटिङ गर्नुछ । कत्ति चलेको गीत हो ! छोरी ले जवाफ यस्तो सुनेपनि म अक्क न बक्क भए । कुन मोहोरा कुन बर्षा मैले त केही बुझिन । अब के भन्ने खोई जमाना कता गयो गयो ।’

मौलिकतासम्म झल्काउँदै
हाल टिकटकमा भाइरल हुने भनेको हाम्रै गाउँबेसीका लोक भाका हुन् । यही बहानामा आजका पुस्ताले ड्रेसअप म्याच गर्ने नाउँमा पुराना हाम्रा मौलिक लुगा र कपडाहरु तथा अन्य उपयोगी वस्तुहरुको बारेमा जान्न र देख्न पाएका छन् ।

गीत वा संवाद, शब्द वा कमेडी जेमा भिडियो छायाँङ्कन गर्दा नि कथाले मागेको दृश्य राखिने हुँदा पनि यो थप मौलिक बन्न पुगेको छ ।

त्यस्तै, डोको र नाम्लो ,ढिकी र जाँतो गीतको बोलमा पनि लोप भइ सकेका यस्ता वस्तुहरु भोलिका पुस्ताले सम्झिरहने अवस्था टिकटकले बनाएको छ ।

यस्तै, धेरैले यसलाई आर्थिक उपार्जनको बाटो समेत बनाएका छन् । तर पछिल्ला दिनमा विकृति पनि बढेकाले त्यसतर्फ सचेत भने हुनैपर्छ ।

के हो टिकटक ?

‘टिकटक’ मोबाइलबाट बनाउन सकिने छोटो भिडियो एप हो । यसलाई शुरुवात गर्ने कम्पनीका अनुसार आफूले देखेको कुनै विशेष पल, सिर्जनात्मक र ज्ञानको विषयलाई मोबाइलबाटै कैद गरेर संसार सामू प्रस्तुत गर्ने उद्देश्यले टिकटक प्रारम्भ गरिएको थियो ।

यसले हरेक व्यक्तिले सिर्जनात्मक तवरले भिडियोमार्फत् अभिव्यक्ति दिन तथा आफ्नो अभिरुचिको विषय संसारसामु देखाउन उत्प्रेरणा जगाउँछ । यसमा फ्यान, फलोइङ र हार्ट फिचरसमेत समावेश छ । अपलोड गरिएका भिडियोको लाइक संख्याका आधारमा हार्टको संख्या निर्धारण हुन्छ । एकअर्कामा फलो, फ्लोइङ छ भने यसबाट म्यासेज आदानप्रदानसमेत गर्न सकिन्छ । यो एउटा मनोरञ्जनात्मक सामाजिक सञ्जाल हो ।


क्लिकमान्डु