सार्वजनिक यातायातको भाडा बढ्यो, चढ्ने वित्तिकै १८ रुपैयाँ, ट्याक्सीमा बढेन



काठमाडौं । सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कत्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।

लामो दुरीको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलका प्रदेश सचिव अशोककुमार साहकाअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसको दुरीलाई १८ रुपैयाँ तोकेको छ ।

त्यस्तै १० किलोमिटरसम्मको दुरीलाई २३ रुपैयाँ तोकेको छ । १५ किलोमिटरसम्मलाई २७ रुपैयाँ र २० किलोमिटसम्मको दुरीलाई ३० रुपैयाँ तोकेको सचिव साहले बताए । २० किलोमिटरभन्दा माथिदुरीलाई ३५ रुपैयाँ भाडादर कायम गरेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु