चीनसँग सीमा समस्या नरहेको नेपाल-चाइना मिडिया फोरमको दाबी



काठमाडौँ । नेपाल र चीन बिच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ । नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले यस्तो निष्कर्ष निकालेको हो ।

सो प्रतिवेदनअनुसार विगतमा नेपाल र चीनबीच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ । नेपाल–चीन सीमा विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल–चाइना मिडिया फोरमले उल्लेख गरेको छ ।

जसमा भनिएको छ, ‘एक, बितेका ६ दशकमा नेपाल र चीन बिच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधिमार्फत् कसरी समाधान गरियो भन्ने आम चासोलाई पुरा गर्नु दुई मुलुकबीचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय भएको जनाएको छ ।

दोस्रो नेपालमा सरकार परिवर्तन भएसँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसदमा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखेको उल्लेख छ ।

अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाइ सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा थप चासो बढेको छ ।

त्यसैले नेपाल–चीन मिडिया फोरमले गरेको यो स्वतन्त्र अध्ययनका क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागि महत्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्छ भन्ने विश्वास लिएको छ ।

विगतमा सगरमाथाको स्वामित्वदेखि सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहज पुरमा भएको थियो भन्ने कुरालाई यो अध्ययनमा महत्वका साथ उल्लेख गरिएको छ । चरनदेखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चलीआएका व्यवहारिक सम्बन्धको समेत चर्चा गरिएको छ ।

सन् २०१५ मा नेपालमाआएको महाभूकम्प पछिको पुनर्निर्माणमा चीनले दिएको साथ, कोरोना महामारीबाट नेपाललाई बाहिर निकाल्न र सङ्कटमा परेका बेला एक जिम्मेवार छिमेकीको नाताले चीनले गरेको सहयोगबारे पनितथ्यगत प्रस्तुति समेटिएको छ ।

त्यसैगरी, चीनले निकै महत्वका साथ अघि बढाएको ‘रोड एण्ड बेल्ट इनिसिएटिभ’ (बीआरआई)बाट नेपालले लिन सक्ने लाभ र त्यसका लागि अवलम्बन गर्नुपर्ने मार्गका बारेमा समेत यो प्रतिवेदनमा उल्लेख छ ।

यस क्रममाविवाद रहेको भनी प्रचारित क्षेत्रहरूको स्थलगत भ्रमण गरी स्थानीय बासिन्दाको भनाइ संकलन गरिएको फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, यो अध्ययनको उद्देश्य सीमा समस्या छ वा छैन भन्ने कुरालाई तथ्यहरूको आधारमा विश्लेषण गर्नु रहेकाले अन्य विषयवा सन्दर्भमा प्रवेश नगरिएको प्रतिवेदनमा जनाइएको छ ।

नेपाल–चीन सम्बन्धलाई थपगहन रूपले अध्ययन गर्न चाहनेहरूलाई एक महत्वपूर्ण स्रोत सामग्रीका रूपमा काम गर्न सक्ने नेपाल–चाइना मिडिया फोरमले विश्वास व्यक्त गरेको छ ।


क्लिकमान्डु