विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई विदेशमा ऋण लिन बैंकले बैंक ग्यारेण्टी जारी गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ ।

यद्यपि यो व्यवस्था विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, संघ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि मात्रै लागू हुनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दैै यस्तो व्यवस्था गरेको हो ।

यसरी बैंक ग्यारेण्टी वा स्ट्याण्डवाइ लेटर अफ क्रेडिटको अधिकतम सीमा अमेरिकी डलर ५० लाख वा सो बराबरको अन्य विदेशी मुद्रा हुने व्यवस्था गरिएको छ ।

यस्तो ऋण लिनका लागि निवेदकले पछिल्लो ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राभन्दा बढी हुने छैन भने विदेशमा लिइने ऋण रकमभन्दा बढी हुन नहुने गरी संशोधन गरिएको छ ।

यस्तो ऋण लिनका लागि निवेदकले बैंकमा निवदेन दिँदा बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई लेटर अफ क्रेडिट जारी गरी विदेशमा ऋण लिनुपर्ने आवश्यकता पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।

त्यसका साथै फर्म/कम्पनी/संघ/संस्था दर्ता प्रमाणपत्र र कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वा कर विवरण बुझाएको प्रमाणपत्र, पछिल्लो लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट त्यस्तो सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी स्वःघोषण समेत गर्नुपर्नेछ ।

त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने समेत व्यवस्था गरिएको छ ।


क्लिकमान्डु