फेसबुक डाउन हुँदा जुकरबर्गले गुमाए ७ अर्ब डलर, धनीको सूचीमा एक स्थान तल झरे



सोमबार विश्वभर कैयन घण्टा फेसबुकका सबै सेवा डाउन भए । फेसबुकका साथै इन्टाग्राम र ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन एटी एण्ड टी तथा टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प भए ।

फेसबुक डाउन भएपछि यसका सह संस्थापक तथा सीइओ मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सान भएको छ । उनको नेटवर्थ ७ अर्ब डलरले घटेको छ । साथै उनी अर्बपतिको सूचिमा १ स्थान तल झरेका छन् ।

ब्लूमवर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सेवा डाउन भएका कारण जुकरवर्गको नेटवर्थ घटेर १२२ अर्ब डलरमा सीमित भएको छ । उनी बिल गेट्सभन्दा तल धनीहरुको सूचीमा ५औं स्थानमा झरेका छन् । यो वर्ष सेप्टेम्बर १३ देखि अहिलेसम्म उनको नेटवर्थमा १९ अर्ब डलर कमी आइसकेको छ ।

फेसबुकको सेयरमा ५ प्रतिशतको गिरावट
यसैबीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरमा तीव्र गिरावट देखिएको छ । एक दिनमै कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतको गिरावट देखिएको छ । कम्पनीको सेयर मूल्य मध्य सेप्टेम्बरदेखि हालसम्म १५ प्रतिशतले ओरालो लागिसकेको छ ।

६ घण्टासम्म डाउन सेवा
नेपाली समय अनुसार सोमबार रातिको करिब १० बजेको आसपासमा विश्वभर फेसबुकका सबै सेवा डाउन भएका थिए । फेसबुकका साथै इन्टाग्राम, ह्वाट्एपलगायतका सेवा डाउन भएका थिए ।


क्लिकमान्डु