दशैंमा घर जान प्लेनको टिकट काट्नु भयो ? कुन गन्तव्यको कति छ भाडादर ?



काठमाडौं । दशैंमा काठमाडौं उपत्यका छाड्नेहरुको संख्या निकै ठूलो हुन्छ । सडक तथा हवाई मार्ग भइ प्रत्येक वर्षको दशैंमा लाखौं व्यक्तिले उपत्यका छाड्नेछन् । गत वर्षदेखि कोरोना महामारीका कारण त्यति स्वास्थ्यका दृष्टिकोणले त्यत्ति सहज नभए पनि घर छाडेर उपत्यकामा अवसर खोज्दै आएकाहरु दशैंमा भने घरै पुग्छन् ।

यो वर्ष सडक मार्ग सहज नहुँदा धेरैको रोजाई हवाई यात्रा हुन थालेको छ । सस्ता दरका टिकट र छिटो र सुरक्षित यात्राका लागि केही वर्षयता आन्तरिक यात्रुको चाप हवाई उडानमा पनि देखिन थालेको छ । खासगरी दशैंको विदा हुनुभन्दा ३/४ दिनदेखि हवाई यात्रुको चाप बढेसँगै टिकटको मूल्य पनि उसैगरी आकासिएको छ ।

उपलब्ध तथ्यांक अनुसार दशैंको विदा शुरु हुने समयमा काठमाडौंबाट विभिन्न गन्तव्य जानका लागि हवाई टिकट निकै महंगो भएको छ भने सोही समयमा विभिन्न गन्तव्यबाट काठमाडौं आउनका लागि आधाबढी सस्तो देखिएको छ ।

कुन गन्तव्यको भाडा कति ?
विभिन्न एयरलाइन्सले आ–आफ्नै ढंगले टिकट दर कायम गरेका छन् । तर दशैंको विदा शुरु हुने दिन फुलपातिको अघिल्लो दिनको टिकट हेर्दा सबैभन्दा सस्तो दरको टिकट मात्रै यहाँ समावेश गरिएको छ । जुन एयरलाइन्स अनुसार फरक पनि पर्न सक्छ ।

काठमाडौं–विराटनगरका लागि एउटा टिकटको मूल्य ७४ सय छ भने बिराटनगर–काठमाडौंको सोही दिनको टिकट २२ सय रुपैयाँ छ ।
काठमाडौं–भद्रपुरको टिकट ९ हजार ५३० रुपैयाँ र भद्रपुर–काठमाडौंका सोही दिनको टिकट मूल्य २ हजार ४५० रुपैयाँ छ ।

अक्टोबर ११ तारिखमा काठमाडौं–भरतपुरको टिकट ३ हजार ५७५ रुपैयाँ छ भने सोही दिन भद्रपुर–काठमाडौंको टिकट दर २ हजार ९७५ रुपैयाँ छ ।

काठमाडौं–धनगढीको टिकट दर १० हजार ४३० रुपैयाँ छ भने धनगढी–काठमाडौंको सोही दिनको टिकटदर ४ हजार रुपैयाँ छ ।

काठमाडौं–जनकपुरको टिकटदर ४ हजार २२० रुपैयाँ छ भने सोही जनकपुर–काठमाडौंको टिकटदर १ हजार ९५० रुपैयाँ छ ।


साथै, काठमाडौं–नेपालगञ्जको टिकटदर ९ हजार १०० रुपैयाँ छ भने सोही दिन नेपालगञ्ज–काठमाडौंको हवाई टिकट मूल्य ४ हजार ४५० रुपैयाँ छ ।

काठमाडौं–भैरहवाको टिकट मूल्य ६ हजार २३५ रुपैयाँ छ भने भैरहवा–काठमाडौंको टिकट मूल्य सोही दिनका लागि ३ हजार रुपैयाँ छ ।

काठमाडौं–पोखराका लागि उक्त दिनका टिकट दर ४ हजार ४१० रुपैयाँ छ भने पोखरा–काठमाडौंका लागि सोही दिनको टिकटदर २ हजार ९५० रुपैयाँ छ ।

साथै, काठमाडौं–राजविराजका लागि उक्त दिनको टिकट मूल्य ६ हजार ३२५ रुपैयाँ छ भने सोही दिन राजविराज–काठमाडौंको टिकटदर ३ हजार २०० रुपैयाँ छ ।


क्लिकमान्डु