केराउ, सुपारी, मरिच र छोकडा आयातमा रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो ।

बैंकका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातमा रोक लगाउन अनुरोध गरेकाले यस आर्थिक वर्षका लागि आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्न कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।

त्यस्तै, जारी सूचनामा असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा भने ती वस्तु नेपाल ल्याउन पाइने उल्लेख गरेको छ ।

साथै, बैंकले आयात प्रयोजनका लागि कुनै पनि आयात, बैंकिङ तथा भुक्तानीसम्बन्धी प्रक्रिया अगाडि बढाउनु हुन विदेशी विनिमय ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग सूचना जारी गरेको जनाएको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो ।


क्लिकमान्डु