घट्दो सेयर बजारमा अत्तालिएका लगानीकर्ता, गहिरो कुवाले बुझाउला त पैसाको प्यास !



‘सेयर मार्केट यस्तो गहिरो कुवा हो, यस्ले पूरा देशको पैसाको प्यास बुझाउन सक्छ । र, म यो कुवामा डुबुल्की लगाउन चाहन्छु, निकै गहिरोमा जान चाहन्छु, म इतिहास बनाउन चाहन्छु ।’

गत वर्ष रिलिज भएको भारतीय टेलिभिजन सिरिज ‘द हर्षद मेहेता’मा मुख्य पात्रको यो फिल्मी डाइलग नेपालीमाझ पनि निकै लोकप्रिय बन्यो । भारतीय सेयर बजारका नामूद खेलाडी हर्षद मेहेताको उँघोगति र उँधोगतिलाई मिहिन ढंगले चलचित्रमा समावेश यो दृश्य मात्रै पनि निकै चल्यो । अर्थात् भाइरल भयो ।

भिडियो क्लिपलाई सामाजिक सञ्जालदेखि टिकटसम्म पोर्टफोलियोको स्क्रिनसट सेयर गर्दै धेरैले भिडियो पनि बनाए । बढ्दो पोर्टफोलियोमा सबै रमाए ।

कारण थियो, नेपालमा सेयर बजारमा प्रवेश गर्नेको संख्या दिन दुई गुणा रात चार गुणा बढीरहेको थियो । मुलुकमा कोरोना महामारीका कारण सिर्जित लकडाउनका समयमा विभिन्न कम्पनीले निष्कासन गरेका हरेक आइपीओमा आवेदनमा रेकर्ड ब्रेक भइरहेको थियो । एउटै आइपीओमा २४ लाखसम्मले आवेदन समेत गरे ।

सेयर बजार मापन गर्ने सूचक नेप्सले ११ सयको हाराहारीबाट ३२ सयको आँकडा छुँदै गर्दाको खुसी यतिबेला निराशामा परिणत हुँदै गएको हो कि भन्ने देखिएको छ । तर, आशा भने अझै कायमै छ ।

पछिल्लो २० दिनमा सेयर बजार मापक सूचक नेप्सेमा ४०० अंकको गिरावट आइसकेको छ । केही समय अघिसम्म इतिहासिक उचाइ छोएको नेप्सेको ओरालो यात्राले लगानीकर्ताहरु अत्ताल्लिएका छन् । केही अघिसम्म ४४ खर्बसम्म पुगेको बजारपुँजीकरण अहिले ८ खर्बले घटेर ३६ खर्बमा सीमित भएको छ ।

नेप्सेको उचाई छुँदै गर्दा बन्ने हरियो ग्राफमा रमाइरहेका लगानीकर्ताहरु यतिबेला नेप्सेको घट्दै गरेको रातो ग्राफमा भने आत्तिएका छन् । नआत्तिउन पनि किन, बजारमा छोटो समयमै ४०० भन्दा बढी अंकको गिरावट आइसकेको छ । उच्चतम विन्दुसँग तुलना गर्ने हो नेप्से साढे ६ सय अंकले ओरालो लागेको छ । र, यो यत्तिमै रोकिने छाँटकाँट पनि छैन ।

खासगरी बुल मार्केटमात्रै रमाइरहेका पछिल्लो एक वर्षमा प्रवेश गरेका लाखौ नयाँ लगानीकर्ताका लागि बियरिस ट्रेन्डको असरदार हुने पक्का छ । विश्लेषकहरु घट्दो सेयर बजारको असर नयाँ र त्यसमा पनि सतही ज्ञानका भरमा पुँजीबजारका गहिरो खेलमा डुबल्की मार्ने लगानीकर्तामा ठूलो र दीर्घकालीन असर पर्ने टिप्पणी गर्छन् ।

मार्केट बियरिस भएकै हो त ?

बजारमा २० प्रतिशतसम्मको गिरावटलाई बियरिस भनिहाल्न नमिल्ने विश्लेषकहरुको तर्क छ । तर विश्लेषकहरु बजार गिरावटले २० प्रतिशतको घेरा पार गरेको अवस्थामा के अब बियरिस ट्रेन्ड शुरु भएकै हो त भन्नेमा आशंका गर्ने ठाउँहरु प्रशस्तै रहेको बताउँछन् ।

३२ सयको आँकडाबाट २६ सयभन्दा तल झरिसकेपछि अब लगानीकर्ताहरुमा निराशा छाउन थालेको जानकारहरुको तर्क छ । उनीहरु तत्कालै बजार पुरानै गतिमा फर्कन भने समय लाग्ने टिप्पणी गर्छन् ।

सेयर बजारका विश्लेषक मुक्ति अर्याल मार्केट बियरिस भनिहाल्ने अवस्था अझै नआइसकेको बताउँछन् । अर्याल दशैं र तिहारपछि बजारमा हरियाली छाउनेमा आशावादी छन् ।

‘बियरिस भन्न अलिक छिटो हुन सक्छ, अझै पनि बजार फर्कने आधारहरु बाँकी छन्,’ उनले भने ।

उनका अनुसार बजार घट्नुको प्रमुख कारक नेपाल राष्ट्र बैंकको ४/१२ को सेयर धितोको सीमा नै हो । राष्ट्र बैंकले बढ्दो बजारमा अनेकन लगाम लगाउँदै गर्दा पछिल्लो पटकको ४/१२ कार्ड निकै असरदार भएको उनको टिप्पणी छ ।

उसो त त्यो एउटा मात्रै कारण पनि होइन । तरलताको बढ्दो अभाव, ब्याजदरमा वृद्धि तथा सेबोनलगायतका निकायले अंगिकार गरेका कसिँला नीतिलगायत पनि यसका घट्दो बजारका कारक हुन् ।

‘जबसम्म राष्ट्र बैंकले नीति सच्चाउँदैन तबसम्म बजार बाउन्स ब्याक भइ हरियो हुने अवस्था तत्काल छैन,’ उनले भने, ‘अब मुलुकमा विभिन्न तहका निर्वाचन आउँदै गरेकाले त्यसको सकारात्मक प्रभाव भने बजारमा पर्न सक्छ ।’

उनको विश्लेषणमा बजार घटाउनुमा अर्थमन्त्री र राष्ट्र बैंक गभर्नरका साथै धितोपत्र बोर्डले प्रकाशित गरेको ५१ वटा कम्पनीको सूचीलगायतका कारण पनि छन् ।

सेयर बजारमा उतारचढाव आउनु अस्वभाविक होइन । सेयर बजारको सौन्दर्य नै ग्राफको ओरालो र उकालो नै हो । तर पछिल्लो समय देखिएको निरन्तर ओरालो यात्राले भने पक्कै पनि बियरिसको संकेत भने गरेको छ । अझ दशैं अगाडि केही वाणिज्य बैंकका साथै अन्य संस्थाहरुले आकर्षक लाभांश घोषणाले पनि घट्दो ग्राफलाई रोक्न नसकेको स्पष्ट देखिन्छ ।

‘लाभांश अहिले सीमित बैंकको मात्रै आएको हो, अन्य बैंकहरुको आउन अझै बाँकी छ । त्यसमाथि पनि बुक क्लोजको मिति नआइसकेकाले केही समयपछि बजार फेरि पुरानै गतिमा उकालो लाग्न सक्छ,’ उनले भने ।

उनका अनुसार निर्वाचनको माहोलका साथै तरलतामा सहजताका साथै ब्याजदर घटेको अवस्थामा बजारमा फेरि हरियाली छाउने छ ।
यद्यपि घट्दो बजारमा एक दिन ५० अंकको बाउन्स ब्याक देखिए पनि कारोबार रकम न्यून हुँदा त्यसले अर्को दिन लय समात्न भने सकेको छैन ।
विश्लेषकहरु सेयर बजार घट्नुमा राष्ट्र बैंकले तरलता अभाव, बढ्दो ब्याजदरका साथै मुद्रास्फिती कारक रहेको टिप्पणी गर्छन् ।

‘सेयर बजारलाई जसरी पनि कस्ने नीति नियामकीय निकायमा देखियो, राष्ट्र बैंकले करिब १० खर्बभन्दा बढी रकम रोकेर जसरी तलरता अभाव गराइयो, राष्ट्र बैंकले मौद्रिक नीतिमै त्यसखालका व्यवस्था गर्यो, जसका कारण बजार घट्नुको विकल्प रहेन,’ एक सेयर बजार विश्लेषकले भने ।

केही समयअघि मात्रै बजारपुँजीकरण ४४ खर्ब रुपैयाँसम्म पुगेको थियो । अहिले ८ खर्बले घटेर ३६ खर्ब रुपैयाँमा सीमित भएको छ । यो सेयर बजारको मात्रै पैसा घटेको होइन, यसले असर अर्थतन्त्रका अन्य क्षेत्रमा पनि उत्तिकै पर्ने उनको भनाइ छ ।

‘बजार घट्दा पुँजीबजारका लगानीकर्ताले मात्रै गुमाउँदैनन्, राज्यले प्राप्त गर्ने राजस्व पनि उसैगरी घट्छ । आज कारोबार २१ अर्बबाट करिब ४ अर्बमा झर्दै गर्दा त्यसबाट राज्यलाई प्राप्त हुने अर्बौ राजस्व पनि गुमेको छ,’ उनले भने ।

उनका अनुसार बजार घट्दाको असर पुँजीबजार लगानीकर्ताका लागि मात्रै नभइ अर्थतन्त्रका अन्य आयाममा पनि उसैगरी पर्छ । अहिले सुनको कोटा बढाउन जरुरी थिएन । विलासिताका वस्तु आयात खुला गरिनु जरुरी थिएन । राष्ट्र बैंकले नै आयात बढाउने गरी नीति ल्याउँदाको मारमा लगानीकर्ता परेका छन् ।

‘बजार घट्नु र बढ्नु अस्वभाविक होइन, तर २६ सयसम्म आएको नेप्से परिसूचक अझै तल झर्नुको अर्थ अब बियरिस ट्रेन्ड शुरु भयो कि भन्ने अनुमान गर्न सकिन्छ । यदि समयमै लगानीकर्ताको बजार र नियाकम निकायतप्रतिको विश्वास गुमाउन नदिने हो भने समयमै ध्यान दिनु आवश्यक छ,’ उनले भने ।

यसबीचमा नियाकम निकायले कुनै कम्पनीको सेयर मूल्य बढ्ने वित्तिकै बढी भयो भन्ने र मूल्य यति हो भन्दै घोषणा गर्ने खराब निर्णयका कारण लगानीकर्ताको बजारप्रतिको विश्वास गुम्दै गएको जानकारहरु बताउँछन् । उनीहरुले नियामक निकायले लिएको नीतिका कारण आयात बढेको र ठूलो रकम बाहिरिएको र त्यसको नकारात्मक असर पुँजीबजारमा देखिएको जानकारहरुको विश्लेषण छ ।


कमलकुमार बस्नेत