पावर बैंक कुलेखानी जलाशयको जलसतह ६ वर्षपछि भरियो, हिउँदलाई ढुक्क



काठमाडौं । मुलुकको एकमात्रै पावर बैंकमा पानीको सतह पूर्णरुपमा भरिएको छ । इन्द्रसरोवर समेत भनिने कुलेखानी जलाशयमा २०७२ सालपछि पहिलो पटक पानीको सतह पूर्णरुपमा भरिएको हो । नेपाल विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालयका अनुसार जलाशयमा पानीको सतह बढेर १ हजार ५२९.५० मिटरको हाराहारीमा पुगेको छ ।

प्राधिकरणले जलाशयमा १ हजार ५३० मिटरसम्म पानी भर्दै आएको छ । बढी बिजुली माग हुने हिँउदको समयमा साँझलाई बिजुली प्रवाह गर्नका लागि सो जलाशयको पानी प्रयोग गरिदै आएको छ । अन्य आयोजनामा हिँउदको समयमा पानीको मात्रा असाध्यै कम हुने भएकाले बिजुली उत्पादन घटेर एक तिहाईमा सीमित हुने गरेको छ ।

कुलेखानी जलाशयसँग जोडिएका ३ वटा आयोजनाले मात्रै पूर्णक्षमतामा बिजुली उत्पादन गर्न सक्छन् । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ ।

हिउँदका लागि बिजुली आपूर्ति गर्ने कुलेखानी जलाशयमा पानी भरिएपछि प्राधिकरण समेत ढुक्क भएको छ । वर्षाको समयमा रातको समय ४०० मेगावाटसम्म बिजुली खेर गइरहेको छ । यस्तै दिउँसोको समयमा समेत झण्डै २५० मेगावाट बराबरको बिजुली जगेडामा परेको छ ।

जानकारी अनुसार अघिल्ला वर्षहरुका कुलेखानी जलाशयमा १ हजार ५२७ मिटर बराबरको हाराहारीमा पुगेपछि आयोजना चलाउने गरिएको थियो । गोरखा भूकम्पका कारण जलाशयमा सामान्य क्षति पुगेपछि जापानी प्राविधिक बोलाएर मर्मत् गरिएको थियो । नेपालको एक मात्र रक फिल बाँध भएकाले पनि भूकम्पले खासै समस्या पारेको थिएन ।

प्राधिकरणका अनुसार जलाशय भरिनका लागि मात्रै ५० सेन्टिमिटरको हाराहारीमा रहेको छ । हाल प्राधिकरणले सो जलाशय चलाएको छैन ।
बिजुलीको सहज व्यवस्थापन हुन नसक्दा गत वैशाखसँग प्राधिकरणले २४ सै घण्टा कुलेखानी चलाएको थियो । सोही कारण जलाशयकोजलसतह घटेर १ हजार ५०६ मिटरमा झरेको थियो ।

सोही कारण अझै पानीको मात्रामा वृद्धि हुन जान्छ । मुलुकको प्रणालीमा हाल झण्डै २ हजार मेगावाट बराबरको बिजुली उपलब्ध छ ।

प्राधिकरणले आवश्यकताका आधारमा मात्रै माथिल्लो तामाकोशीलाई समेत पूर्ण क्षमतामा चलाउने गरेको छ । बिजुली खेर जाने अवस्था आएकाले तामाकोशीका दुई यूनिट भने बन्द गरिएको छ ।


क्लिकमान्डु