चाडपर्व नजिकिँदै गर्दा महंगियो तरकारी



काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तरकारीको मूल्य अप्रत्याशित रुपमा महंगिएको छ । करिब एक महिनाको अवधिमै अधिकांश तरकारीको मूल्य दोब्बरले महंगिएको छ ।

सरकारले गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाले आपूर्तिसँगै माग कम भएपछि तरकारीको मूल्य सस्तो भएको थियो । तर, निषेधाज्ञा खुकुलो बनाएसँगै तरकारीको मूल्य निरन्तर बढ्ने क्रम हालसम्म कायमै रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले तोकेको दैनिक मूल्यको विवरण तुलना गर्दा करिब एक महिनाको अवधिमा दोब्बरले बढेको तथ्याङ्कले देखाउँदछ ।

यसअघि सामान्य तरकारीको मूल्य अहिले प्रतिकेजी ५० रुपैयाँसम्म कायम भएको मूल्यमा अहिले बढेर अधिकांश तरकारीको मूल्य बढेर ५० रुपैयाँभन्दा बढी कायम भएको छ ।

दैनिक उपभोग्य तरकारीमा बढेसँगै उपभोक्ता मारमा परेका छन् । कोरोना महामारीका कारण बेरोजगार र आर्थिक मन्दि खेपिरहेको उपभोक्तालाई थप मूल्य वृद्धिले झन मारमा परेको उपभोक्ताकर्मीहरूको भनाइ छ । साथै, उपभोक्ताकर्मीहरूले सरकारको वेवास्ताले गर्दा दैनिक उपभोक्ताहरू ठगिन बाध्य भएको उनीहरूको भनाइ छ ।

यस्तै, समितिले तोकेको दैनिक उपभोग्य तरकारीको मूल्यमा भदौको १ गते र असोज ३ गतेको मूल्यमा प्रतिकेजी ५ रुपैयाँदेखि १८० रुपैयाँसम्म बढेको छ ।

तर, समितिका अनुसार गत वर्षको तुलनामा मूल्य कम भएको जनाएको छ । गत वर्षको सोही अवधिका तरकारीको मूल्य अत्याधिक रुपमा बढेको थियो । यो वर्ष भने केही सिमित तरकारीमा मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

उनका अनुसार गत भदौको शुरुवातीमा निषेधाज्ञाले गर्दा सम्पूर्ण व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन । बजारको होटल, रेष्टुरेन्ट नखुल्दा मागको अवस्था निकै कमजोर थियो । साथै, तरकारी आगमनमा कुनै प्रभावित नहुँदा सो समयमा तरकारीको मूल्य घटेको हो ।

तर, भदौपश्चात निरन्तर सम्पूर्ण व्यापार, व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न पाएसँगै बजार माग बढ्नाले तरकारीको मूल्य बढेको उनको भनाइ छ ।

‘भदौको १० गतेबाट निरन्तर वर्षाका कारण उत्पादन भएको तरकारीमा असर पर्यो । साथै, तरकारी आयातमा पनि बाढी पहिरोका कारण निकै प्रभावित भयो । जसले गर्दा मूल्य निरन्तर बढेको हो,’ उनले क्किमान्डूसँग भने ।

अहिले अत्याधिक उत्पादन हुने तरकारी सिमी, लौका, बोडी, घिरौला रहेका छन् । अन्य तरकारीको उत्पादन कम हुने अवस्था छ । तर, माग भने बढ्दै गएको अवस्थामा आपूर्ति बढ्न नसकेको उनको बुझाइ छ ।

त्यसैगरी, होलसेलमा तरकारीको मूल्यमा खासै फरक नभएपनि खुद्रा बजारमा भने अत्याधिक मूल्यको अन्तर रहेको उनले बताए ।

कुन तरकारीको मूल्य कतिले बढ्यो
हरेक घरमा दैनिक रुपमा उपभोग गर्ने तरकारी हो आलु । बजारमा विभिन्न प्रकारका आलु पाउने गर्दछ । उक्त आलुको बजार भाउ बढेर प्रति केजी ५७ रुपैयाँ कायम भएको छ । गत भदौ १ गते प्रतिकेजी ५२.५० रुपैयाँ कायम भएको रातो आलुको मूल्य आजको दिनमा आइपुग्दा ५ रुपैयाँ बढेको देखिन्छ । मुडेको आलुको मूल्य भने स्थिर रहेको छ ।

गत भदौको शुरुवातमा प्रतिकेजी ३५ रहेको काँक्रोको मूल्य अहिले ४५ रुपैयाँ, १३ रहेको हाइब्रिड काँक्राको मूल्य २३ रुपैयाँ, १२५ रहेको कागतीको मूल्य १५५ रुपैयाँ, ३५ रहेको लोकल घिउ सिमीको मूल्य ७० रुपैयाँ, ३५ रहेको हाइब्रिड सिमीको मूल्य ७५ रुपैयाँ, २५ रहेको घिरौलाको मूल्य ४५ रुपैयाँ, १४५ रहेको चमसुर सागको मूल्य ३२५ रुपैयाँ, २८ रहेको चिचिण्डोको मूल्य ३५ रुपैयाँ, १६५ रहेको टाटेसिमीको मूल्य १७० रुपैयाँ, १३ रहेको करेलाको मूल्य ९५ रुपैयाँ र ५५ रहेको तोरीको सागको मूल्य १४५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी गत भदौ १ गते ६५ प्रतिकेजी ६५ कायम भएको तराई परवरको मूल्य ७५ रुपैयाँ, ६५ रहेको लोकल परवरको ८५ रुपैयाँ, ११० रहेको प्याजको २२५ रुपैयाँ, २५ रहेको तने बोडीको मूल्य ७५ रुपैयाँ, १५५ रहेको ब्रोकाउलीको मूल्य २२५ रुपैयाँ, ७५ रहेको भटमास कोसाको मूल्य ९० रुपैयाँ, ३५ रहेको डल्लो भन्टाको ६५ रुपैयाँ, २३ रहेको भन्टा लाम्चाको मूल्य ४५ रुपैयाँ, ७५ रहेको भेडे खुर्सानीको मूल्य ११५ रुपैयाँ, २३ रहेको लौकाको मूल्य ४५ रुपैयाँ, १६५ रहेको धनियाँको मूल्य २५० रुपैयाँ, ५५ रहेको हरियो खुर्सानीको मूल्य ७५ रुपैयाँ र २५ रहेको भिण्डीको मूल्य ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु