विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट र प्रिपेड कार्ड जारी गर्न पाउने



काठमाडौं । विकास बैंक र वित्त कम्पनीहरुले पनि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै सो सुविधा दिएको हो ।

यस अघिसम्म वाणिज्य बैंकहरुलेमात्र क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न पाउथे । विकास बैंक र वित्त कम्पनीहरुले धेरै समय अघिदेखि नै आफूलाई पनि क्रेडिट कार्ड जारी गर्न दिनुपर्ने माग राख्दै आएका थिए । जुन राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृतमार्फत् सम्बोधन गरेको छ ।

निर्देशन जारी गर्दै केन्द्रीय बैंकले उल्लेख गरेको छ, ‘अनुमतिपत्रप्राप्त “क” तथा राष्ट्रियस्तरका “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।’

तर प्रिपेड कार्ड जारी गर्दा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले मात्र स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अन्य वित्तीय संस्थाहरुले भने क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न पाउने छन् ।


क्लिकमान्डु