सेयर धितोमा एकैजनाले बैंकबाट पौने २ अर्बसम्म ऋण लिएको भेटियो, ५० करोडमाथि लिने १० जना



काठमाडौं । पछिल्लो समय चर्चामा रहेको विषय हो सेयर धितो कर्जामा ४ देखि १२ करोड रुपैयाँको सीमा । यो व्यवस्था राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको हो ।

उक्त नीति लागू भएसँगै बजारमा लगानी गर्ने प्रयोजनका लागि एक लगानीकर्ताले सेयर धितो राखेर एक बैंकबाट ४ करोड रुपैयाँसम्म र सम्पुर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन पाउँछ ।

राष्ट्र बैंकले सो नीति साना लगानीकर्ताको पनि सेयर धितो कर्जामा पहुँच होस् भन्ने उद्देश्यले ल्याएको उल्लेख गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा नै केही सीमित ठूला लगानीकर्ताले बैंकलाई धम्क्याउँदै मोटो रकम सेयर धितोमा कर्जा लिन थाले पछी उक्त नीतिको आवश्यकता परेको बताएका थिए ।

हालसम्म सेयर धितोमा प्रवाहित कर्जाको तथ्यांकले समेत साँच्चै साना लगानीकर्तालाई भन्दा केही सीमित ठुला लगानीकर्ताले नै सेयर धितोमा अर्बौ उपयोग गरेको पाइएको छ । बैंकबाट २/४ जना लगानीकर्ताले मात्र अर्बौं कर्जा लिएको तथ्यांक क्लिकमाण्डूले प्राप्त गरेको छ ।

सेयर धितो राखेर बैंक तथा वित्त कम्पनीबाट बजारमूल्य वा १८० दिनको भारित औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ । उक्त व्यवस्थामा रहेर गत असार मसान्तसम्म ८ हजार ५६४ जनाले सेयर धितो राखेर कर्जा लिएका छन् ।

जसको २ प्रतिशत अर्थात् १३१ जनाले मात्र राष्ट्र बैंकले तोकेको नयाँ सेयर धितो कर्जाको सीमाभन्दा माथि गएर कर्जा लिएका छन् । बैंक तथा वित्त कम्पनीबाट करोडौं रूपैयाँ कर्जा लिएर सीमित लगानीकर्ताले नै बजारमा लगानी गर्ने यो तथ्यांकले पुष्टी गर्छ ।

असार मसान्तसम्म सेयर धितो राखेर कर्जा लिने कुल ऋणीमा १ करोड रुपैयाँभन्दा थोरै ८० प्रतिशतले कर्जा लिएका छन् । साथै, १ देखि ४ करोड रुपैयाँ १३ प्रतिशतले, ४ देखि १२ करोड रुपैयाँसम्म ४ प्रतिशत, १२ देखि २० प्रतिशतसम्म ०.७३ प्रतिशत र २० देखि ५० करोड रुपैयाँसम्म ०.६७ प्रतिशत ऋणीले मात्र सेयर धितोमा कर्जा लिएका छन् ।

सेयर धितो राखेर ०.११ प्रतिशत अर्थात् १० जना ऋणीले ५० करोड रुपैयाँमाथि पौने २ अर्ब रुपैयाँसम्म कुल १० अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका छन् ।

पछिल्लो समय दिन प्रतिदिन नै सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दो छ । सीडीएससीको पछिल्लो तथ्यांकअनुसार ४२ लाख १७ हजार बढी डिम्याट खाता खोलिएको छ भने मेरो सेयर प्रयोगकर्ता ३३ लाख १२ हजार बढी छन् । दोस्रो बजारमा कारोबार गर्ने करिब साढे ९ लाख सक्रिय लगानीकर्ता छन् । सेयर धितोमा कर्जा लिने यी नै सक्रिय लगानीकर्तामध्ये हुन् ।

कुल लगानीकर्तामा पनि सेयरधितोमा कर्जा लिने सेयर लगानीकर्तामा ०.११ प्रतिशतमात्र हुन् । सीमामा रहेर सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थामा पनि सीमित व्यक्तिहरुमात्र लाभान्वित भएको राष्ट्र बैंकको तथ्यांकले प्रष्ट पारेको छ ।

तर, अधिकांश लगानीकर्ताहरु भने सेयर धितो कर्जामा गरिएको नयाँ व्यवस्थाको विरोधमा छन् । हजारौं लगानीकर्ताहरु आफूलाई नयाँ सेयर धितोकर्जा नीतिले कति असर गर्छ/गर्दैन नबुझेर नै नयाँ सेयर धितो कर्जा नीतिको बिरोधमा उत्रिएको देखिन्छ ।

सेयर धितोमा कर्जा एक ऋणीले ऋणीले पौने २ अर्ब रुपैयाँसम्म

गत आर्थिक वर्षको असार मसान्तसम्म ८ हजार ५६४ जनाले बैंक तथा वित्त कम्पनीबाट सेयर धितोमा १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ कर्जा लिएका छन् । जुन राष्ट्र बैंकले तोकेको ७० प्रतिशत मूल्यांकनको सीमामा रहेर बैंक तथा वित्त कम्पनीले लगानीकर्तालाई सेयर धितोमा कर्जा दिएका हुन् ।

यस अघिसम्मको व्यवस्थामा लगानीकर्ताले सेयर धितो राखेर पौने २ अर्ब रुपैयाँसम्म कर्जा लिएका छन् भने अर्ब रुपैयाँबढी ४ जना लगानीकर्ता लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सो अवधिमा १ करोड रुपैयाँभन्दा कम कर्जा ६ हजार ९१० जनाले लिएका छन् । साथै, १ करोड रुपैयाँदेखि ४ करोड रुपैयाँसम्म १ हजार १४३ जनाले कर्जा लिएका छन् । यो राष्ट्र बैंकले तोकेको पछिल्लो सेयर कर्जाको सीमाभित्रको कर्जा हो ।

राष्ट्र बैंकले तोकेको ४ करोडको सीमाभित्र ८ हजार ५३ जनाले ४१ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ सेयर धितोमा कर्जा लिएका छन् । साथै, तोकिएको १२ करोड रुपैयाँको सीमामा समेत ३८० जना ऋणीले २५ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बढी सेयर धितोमा कर्जा लिएका छन् ।
तोकिएको ४/१२ करोड रुपैयाँको सीमाभन्दा माथि २० करोड रुपैयाँसम्म ६३ जनाले ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ सेयर धितोमा कर्जा लिएका छन् ।

यसैगरी, सेयर धितोमा २० करोडदेखि ५० करोड रुपैयाँसम्म ५८ जना ऋणीले १७ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा लिएका छन् । साथै, ५० देखि १ अर्ब रुपैयाँसम्म ६ जनाले ४ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ बढी सेयर धितोमा कर्जा लिएका छन् ।

यस्तै, १ अर्ब रुपैयाँभन्दा माथि कर्जा लिनेमा १ जनाले १ अर्ब ३४ करोड ९१ लाख ८३ हजार रुपैयाँ, १ जना लगानीकर्ताले १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ, अर्का एक लगानीकर्ताले १ अर्ब ५० करोड रुपैयाँ र एक अर्ब ७५ करोड ३५ लाख ३४ हजार रुपैयाँ अर्का लगानीकर्ताले आफ्नो सेयर धितो राखेर बैंकबाट कर्जा लिएका राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सेयरधितो कर्जाको सीमाले वास्तविकको प्रभावित

उक्त, तथ्यांक हेर्दा राष्ट्र बैंकले व्यवस्था गरेको नयाँ सेयर धितो कर्जा नीतिअनुसार कर्जा अपुग हुने  १ सय ३१ जना मात्र लगानीकर्ता ऋणी देखिन्छ ।

सेयर धितोमा कर्जा लिएका मध्ये १३१ जना भनेको २ प्रतिशतमात्र हुन् । दोस्रो बजारमा सेयर कारोबार गर्ने करिब साढे ९ लाख लगानीकर्तालाई आधार मान्दा भने सीमाभन्दा बढी सेयर धितो कर्जा चाहिने लगानीकर्ताको हिस्सा ०.०१ प्रतिशतमात्र हुन आउँछ । 

यस अघिसम्म कर्जा लिएर नै सेयर बजारमा लगानी गर्ने ९८ प्रतिशत अर्थात् ८ हजार ४३३ जनालाई राष्ट्र बैंकले तोकेको सेयर धितो कर्जाको सीमाले असर गर्दैन । तर, यी नै १३१ जना लगानीकर्ताको प्रभावमा परेर सोझा साना लगानीकर्ताहरु समेत आफ्नो हितमै राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जा नीतिको विरोध गर्दै सडक मै उत्रिएका छन् । 

बैंक तथा वित्त कम्पनीहरुले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर धितोमा कर्जा दिन पाउँछन् । अर्बौ पोटफोलियो भएका ठुला लगानीकर्ताले एकै बैंकबाट अर्बौ कर्जा लिने गरेको पाइन्छ । यसरी एकै लगानीकर्तालाई बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत सेयर धितो कर्जा दिँदा अन्य लगानीकर्ताले ययस्तो सुविधा उपयोग गर्न बञ्चित भइरहेको थिए । 

हालसम्म सीमित केही लगानीकर्ताले मात्र सेयर धितो कर्जा पाइरहेको अवस्थामा नयाँ नीति लागू हुँदा यो प्रवृति हटेर जान्छ । साथै, साना लगानीकर्ताले बैंक तथा वित्त कम्पनीहरुबाट सहजै सीमामा रहेर सेयर धितो कर्जा लिन सक्ने हुन्छन् । 

ऋणीले कतिसम्म लिए कर्जा


दिलु कार्की