भन्सार महशुल घटाएसँगै विद्युतीय सवारीको आयात ६ गुणाले बढ्यो



काठमाडौं । सरकारले आयातित विद्युतीय सवारी साधनमा भन्सार महशुल घटाएसँगै ६ गुणाले आयात बढेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा भन्सार महशुल घटाउने घोषणा गरेसँगै आयात ६ गुणाले बढेको हो ।

चालु आवको बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तः शुल्क पुरै खारेज गरी भन्सार महशुलसमेत उल्लेख्य मात्रामा घटाएको बजेटमा उल्लेख छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् भन्सार महशुल ८० प्रतिशतसम्म बढाएका थिए जसको प्रभाव बजारमा परेको थियो । उक्त भन्सार महशुल बढाएसँगै मूल्य चर्को भएका कारण मागमा कमी आएसँगै आयातकर्ताहरूले लामो समयसम्म भन्सारमा गाडी नछुटाएर राखेका थिए ।

आयातकर्ताहरूले सरकारसमक्ष विभिन्न चरणमा विरोध जनाउँदै बजारमा माग आउँदासमेत आयात गर्न सकेका थिएन । जसले गर्दा आयातकर्ताहरु मारमा परेका थिए ।

हाल सरकारले पूर्णरूपमा अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार दर पनि विद्युतीय सवारीको क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म कायम गरिएको छ । उक्त नियम लागू भएसँगै चालु आवको पहिलो महिनामै उल्लेख्यरुपमा विद्युतीय सवारी साधन आयात बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा सरकारले ८० प्रतिशत भन्सार महशुल लिने घोषणा गरेसँगै साउन महिनामा कुनै पनि चारपाङ्ग्रे सवारी साधन आयात नभएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

गत वर्ष साउन महिनामा तीनपाङ्ग्रे सवारी साधनमात्रै आयात गरेका थिए । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष ५१ लाख ८९ हजारको ५६ वटामात्रै तीनपाङ्ग्रे सवारी साधन आयात भएको देखिन्छ ।

गत वर्ष भन्सार महशुलका कारण आयातमा ठप्प भएको विद्युतीय सवारी साधन यो वर्षको पहिलो महिनामै ३५ करोड ७६ लाख रुपैयाँ बराबरको ३ सय ३३ सवारी साधन आयात भएको छ । जुन गत वर्षको तुलनामा ६ गुणा बढी हो ।

चालु आवको साउन महिनामा २ सय २८ वटा तीन प्राङ्ग्रे सवारी साधन आयात भएको छ । साथै, सोही अवधिमा १ सय ५ वटा विद्युतीय कार भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

सरकारले गत वर्षभरिमा साढे ४ हजार सवारी साधन आयात गरेको थियो । त्यसमा अधिकांश तीन प्राङ्ग्रे सवारी साधन भित्रिएको थियो भने थोरै मात्रामा कार अथवा चार पाङ्ग्रे सवारी साधन भित्रिएको थियो । उक्त आयातित मध्ये ४२ सय ५० तीन पाङ्ग्रे र बाँकी २ सय ४९ वटा गाडी भित्रिएको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु