ई-कमर्श व्यवसायमा एकवर्षमा साढे ८ अर्बबढीको कारोबार



काठमाडौं । कोरोना महामारीका अर्थतन्त्रमा नराम्रो असर परेका बेलामा ई–कमर्श व्यवसायको कारोबारमा भने राम्रो सम्भावना देखिएको छ ।

कोरोना महामारीका कारण देशव्यापीरुपमा लागू भएको लकडाउनका कारण उपभोक्ताको आकर्षक ई–कमर्शतर्फ बढेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा अनलाइन प्लेटफर्म ई-कमर्शमा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो एक वर्षको तथ्यांक अनुसार उपभोक्ताहरुले १३ लाख ४५ हजार ३६४ पटक ई-कमर्श प्लेटफर्ममार्फत् कारोबार गरेका छन् । जसमा ८ अर्ब ६४ करोड ३९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कोरोना महामारीका कारण जनजीवन घरभित्रै सीमित हुँदा ई-कमर्शमा कारोबार गर्नेको संख्या बढेको थियो । उपभोक्ताहरुले खाद्यान्नदेखि कपडा, होमअप्लायन्स, ग्याजेटलगायतका विभिन्न सामानहरु अनलाइनमार्फत् नै खरिदमा आकर्षित भएका थिए । मासिन न्यूनतम १६ करोडदेखि १ अर्ब रुपैयाँबढीसम्म ई–कमर्शमार्फत् कारोबार भएको देखिएको छ ।


क्लिकमान्डु