एक महिनामा बैंकिङ प्रणालीबाट ४२ अर्ब रुपैयाँ निक्षेप हरायो, कर्जा ८४ अर्ब थपियो



काठमाडौं । एक महिनामै बैंकिङ प्रणालीबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । तर सो अवधिमा निक्षेप घटेपनि कर्जा प्रवाह भने ८४ अर्ब ८ करोड रुपैयाँले थप भएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ८ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुले ४६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जुन एक महिनाअघि अर्थात् साउन ८ गतेसम्म संकलित निक्षेपभन्दा ४१ अर्ब ९५ करोड रुपैयाँ कम हो ।

सो अवधिमा निक्षेप घटेपनि बैंक तथा वित्त कम्पनीहरुको कर्जा प्रवाह भने ८४ अर्ब रुपैयाँले बढेको छ । गत साउन ८ गतेसम्म ४१ खर्ब ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ ८ गतेसम्म आइपुग्दा ४२ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

प्राप्त तथ्यांकअनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४६ अर्ब ३२ करोड रुपैयाँले र वित्त कम्पनीको ३ करोड रुपैयाँले घट्दा विकास बैंकहरुको ४ अर्ब ४० करोड रुपैयाँले निक्षेप थप भएको छ ।

भदौ ८ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब १५ अर्ब २१ करोड, विकास बैंकहरुले ४ खर्ब ५० अर्ब ७० करोड र वित्त कम्पनीहरुले ८९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यसैगरी साउन ८ गतेयता भदौ ८ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७१ अर्ब ९८ करोड, विकास बैंकहरुको ११ अर्ब ५३ करोड र वित्त कम्पनीहरुको ५८ करोड रुपैयाँले थप भएको छ ।

भदौ ८ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ७७ अर्ब ६६ करोड, विकास बैंकहरुले ३ खर्ब ९० अर्ब ५७ करोड र वित्त कम्पनीहरुले ६९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु