निर्वाचनमा प्रभाव पार्न रसियाली राष्ट्रपतिको यस्तो फण्डा



एजेन्सी । आगामी महिना रुसमा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनलाई प्रभावमा पार्न संसारका सबै जसो शासकले अनेकन प्रयास र प्रभाव पार्न खोज्छन् ।

सोही क्रममा निर्वाचन प्रभावित पार्न र आफनो समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।

यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ ।

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अथ्र्याइएको छ ।

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचन अगाडि यो योजना प्रस्ताव गरेका छन् । रूसमा सामानहरूमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ ।

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल (१३५ अमेरिकी डलर) भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ ।

आइतबार युनाइटेड रसियाका अधिकारीहरुसँगको भेटमा पुटिनले यस वर्षको बढ्दो मुद्रास्फीतिका कारण पेन्सनरहरुलाई सबैभन्दा बढी असर परेको बताएका थिए ।

केन्द्रीय बैंकका अनुसार वार्षिक मुद्रास्फीति ६.५ प्रतिशत पुगेको छ । बैंकले जूनमा आफ्नो आधारभूत ब्याज दर सोही आँकडमा बढाएको थियो । यो सन् २०१४ को मुद्रा संकट पछिको सबैभन्दा ठूलो वृद्धि हो ।

पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा आइतबार हस्ताक्षर गरेका थिए ।

रूसी नेता पुटिनले सडक मर्मत, सार्वजनिक यातायात र आधारभूत संरचना तथा स्वास्थ्य सेवा विकास गर्न अरबौं खर्च गर्ने एक महिना पहिले बताएका थिए ।

सरकारले अवकाशको उमेर हद बढाएको विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सन् २०१८ मा युनाइटेड रसियाको ख्याति दरमा तीव्र कमी आउन थालेको थियो ।


क्लिकमान्डु