१८ रोपनी क्षेत्रफलमा ‘एग्रो टुरिजम’को नयाँ प्रोजेक्ट शुरु गर्दै बिनायक शाह



काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित बन्यो पर्यटन क्षेत्र । त्यसमाथि पनि होटलमा सबैभन्दा ठूलो असर पर्यो ।

विदेशी पर्यटक आउन पाएनन् भने आन्तरिक पर्यटनमा पनि ठूलो असर पर्यो । जसका कारण होटलहरु सञ्चालन हुन सकेनन् भने होटलमा आबद्ध कैयन श्रमिकहरुले जागिरबाट हात धुनु पर्यो । होटल क्षेत्रमा लगानी बढ्न सकेन भने भइरहेको लगानी पनि ठप्प जस्तै भयो ।

तर कोरोनाले अर्थतन्त्र चौपट बनाएका समयमा पनि होटल एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष समेत रहेका एयरपोर्ट होटलका सञ्चालक बिनायक शाहले भने एग्रो टुरिजमलाई प्रबर्द्धन गर्ने योजना बनाएका छन् ।

लकडाउनकै क्रममा एग्रो टुरिजमको सोच पलाएपछि त्यसलाई मूर्तरुप दिनका लागि शाहले दोलालघाट नजिकै १८ रोपनी जग्गा समेत खरिद गरिसकेका छन् ।

‘लकडाउनकै बीचमा गत वर्षको मंसिर तिर जग्गा खरिद गर्ने सोच बनाएको थिए, लगत्तै एकै परिवारका ३ जना दाजुभाइको १८ रोपनी जग्गा खरिद गरेको हुँ,’ शाहले भने ।

उनका अनुसार इन्द्रावती नदिको किनारको १८ रोपनी जग्गामध्ये १४ रोपनीमा शाहले तिलको खेती शुरु भइसकेको छ । स्वास्थ्यका लागि राम्रो मानिने तिल इम्यूनिटी बढाउनका लागि समेत उपयोगी भएकाले तिलको खेती शुरु गरिएको उनले बताए । शाहले आगामी दिनमा जग्गा खरिद वा लिजमा लिएर भए पनि ६० रोपनीसम्म क्षेत्रफल बिस्तार गर्ने योजना बनाएका छन् ।

‘इटली र स्पेनमा एग्रो टुरिजम निकै फस्टाएको छ, नेपालमा पनि पर्यटकका लागि एग्रो टुरिजमको राम्रो प्याकेज बन्न सक्ने भएकैले मैले यसमा लगानी गर्ने सोच बनाएको हुँ,’ उनले भने ।

परम्परागत पर्यटनमा मूलभूत परिवर्तन ल्याउने योजना अनुसार उनले एग्रो टुरिजमको कन्सेप्ट ल्याएका थिए । बाटो, विद्युत् र पानीको राम्रो प्रबन्ध भएकाले यायाताको समस्या नहुने र राजधानी काठमाडौंबाट विदा मनाउनका लागि जम्मा ६० किलोमिटरको दूरी तय गर्दा मात्रै पुग्ने भएकाले उक्त स्थानमा एग्रो टुरिजमको योजना अनुसार काम अगाडि बढाइएको शाहको भनाइ छ ।

हाल उक्त जग्गामा तिलको खेतीबाहेक फलफूलका बोटबिरुवाहरु पनि छन् ।

शुरुमा उक्त स्थानमा ५ वटा गेष्ट हाउस बनाइनेछ । जसमा पर्यटकहरुले स्थानीय उत्पादनको प्रयोग गरी आफै खाना पकाउन पनि सक्ने सुविधा पनि उपलब्ध गराइनेछ । प्रत्येक पाहुना घरमा पाहुना आफैले खाना पकाउन मिल्ने गरी किचनको समेत व्यवस्था गरिनेछ ।

‘सहरिया वातावरणबाट केही समयका लागि फ्रेस हुन चाहनेका लागि लक्षित गरी उक्त प्रोजेक्ट शुरु गर्न लागिएको हो, पाहुनाहरुले अग्र्यानिक उत्पादनको प्रयोग गरी आफै खाना पकाउने गरी सेवा लिन सक्नेछन्,’ शाहले थपे ।

एकातिर काठमाडौंभन्दा नजिक प्रकृतिको अनुमप सुन्दरतामा समय व्यतित गर्न पाइन्छ भने अर्कोतर्फ र्याफ्टिङ, स्वीमिङ, फिसिङ, ट्रेकिङ तथा हाइकिङ गर्नेहरुका लागि समेत लक्षित गरी संरचना निर्माण गरिने उनको भनाइ छ ।

शाहले विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरी त्यसप्रकारको योजना अगाडि बढाइएको बताए ।

शुरुवातमा जग्गा खरिदलगायतका काममा १ करोड लगानी भइसकेको छ भने आगामी २/३ वर्षमा ५ करोड रुपैयाँ बराबरको लगानी हुने उनको भनाइ छ । उक्त प्रोजेक्टमा शाहको एकल लगानी हुनेछ ।

शाहका अनुसार अहिले काम शुरु भइसकेको छ भने अर्को वर्षसम्ममा पाहुनालाई स्वागत गर्न सकिने गरी संरचना समेत निर्माण गरिनेछ ।


क्लिकमान्डु