‘रेस्क्यू व्यवसायी’ बन्दै बालकृष्ण भुसाल, सिमेन्ट किनेको एकवर्षमै साढे ३ अर्बमा टाइगर प्यालेस किन्ने



काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको तयारी फेरि एक पटक शुरु भएको छ । अष्ट्रेलियाको स्टक एक्सचेञ्जमा सूचिृकत सिल्भर हेरिटेज नामक विदेशी कम्पनीको लगानी रहेको पाँच तारे रिसोर्ट बिक्रीको शुरुवात झण्डै ४ वर्षअघिदेखि नै शुरु भए पनि हालसम्म कसैले खरिद गर्न सकेको छैन ।

उक्त होटल खरिद गर्नका लागि अर्बपति व्यवसायी बिनोद चौधरीदेखि मलेसियाका गैर आवासीय नेपाली इन्द्रबहादुर थापाले समेत प्रयास गरे । तर उनीहरुको प्रयासले मूर्तरुप लिन भने सकेको थिएन ।

तर कोरोना महामारीकै बीच फेरि एक पटक होटल खरिद बिक्रीको प्रयास भएको छ । यसपटक यो प्रयास अमेरिकाबाट शुरु भएको छ । तर खरिदकर्तामा मुख्यलगानीकर्ता रुपन्देहीमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका बालकृष्ण भुसाल देखिएका छन् ।

लामो समयदेखि रुपन्देही क्षेत्रलाई व्यवसायिक थलो बनाएर व्यापारमा बलियो जग बसालेका भुसालले गत वर्ष विशाल सिमेन्ट खरिद गरेदेखि व्यवसायको भौगोलिक दायरा राजधानी काठमाडौंसम्म बिस्तार गरिसकेका छन् । होल्याण्ड ट्रयाक्टर, वायर, होटललगायतका विभिन्न व्यवसायमा हात हालेका भुसालले गत वर्ष सिमेन्ट उद्योग खरिद गरेका थिए । अहिले उनी आफ्नै क्षेत्रमा सञ्चालनमा रहेको र लामो समयदेखि बिक्रीको पर्खाइमा रहेको टाइगर प्यालेस रिसोर्टमा लगानी गर्ने योजनामा छन् ।

यसअघि विविध कारणले समस्याग्रस्त टाइगर प्यालेस रिसोर्ट मात्रै होइन भुसालले व्यवसायीक जीवनमा त्यस्तै समस्याग्रस्त रहेका विशाल सिमेन्ट र केवल कम्पनी पनि खरिद गरेका थिए ।

सन् २००५ मा स्थापना भएका पट्वा केवल इन्डिस्ष्ट्रिज प्रालि समस्याग्रस्त भएपछि भुसालले सन् २०१७ मा खरिद गरेर भुसाल केवल एण्ड वायरु इन्डिष्ट्रिज बनाएका थिए । भुसालले सन् २०१७ मा कम्पनी खरिद गर्दा कम्पनीको आम्दानी जम्मा ३ करोड ८० लाख रुपैयाँ रहेकोमा सन् २०१९ मा २७ करोड र सन् २०२० मा ५८ करोड रुपैयाँ आम्दानी थियो । त्यसैगरी भुसालले गत वर्ष मात्रै समस्यामा जेलिएको विशाल सिमेन्ट कम्पनी खरिद गरेका थिए ।

जसका लागि गत अगष्ट ३ तारिखमा प्रारम्भिक सम्झौता समेत गरिसकेका छन् । सिल्भर हेरिटेजका प्रतिनिधिसहित उनको टीमले सम्झौता ६ पृष्ठ लामो सम्झौतापत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । जसमा सिल्भर हेरिटेजका तर्फबाट प्रतिनिधि माइकल, म्यानह्याटन हाइट ग्रुपका तर्फबाट खगेन्द्र जिसी, भुसाल इन्भेष्टमेन्टका तर्फबाट बालकृष्ण भुसाल र सम्राट ग्रुपका तर्फबाट सीएन पाण्डेले हस्ताक्षर गरेका छन् ।

साढे ३ अर्बमा सम्झौता
करिब ४ वर्षअघि टाइगर प्यालेस रिसोर्ट बिक्रीका लागि ४७ मिलियन डलर मूल्य निर्धारण गरिएको थियो । कालान्तरमा उक्त रकम घट्दै ३५ मिलियन हुँदै ३० मिलियन डलरमा खरिद गर्ने प्रारम्भिक सम्झौता भएको छ ।

जसमा १७.१ मिलियन डलर अर्थात् २ अर्बभन्दा बढी बैंकको ऋण सकार्ने र बाँकी १३ मिलियन डलर अर्थात् डेढ अर्ब लगानी गर्ने सम्झौता भएको छ । जसमा कम्पनीको स्वामित्वमा रहेको झापाको बिर्तामोडको ११ बिघा जग्गा समेत बिक्री गरिने गरी सम्झौता भएको छ । यसका लागि १३ लाख डलर अर्थात करिब १५ करोड रुपैयाँ बराबरको रकम नेपालको वाणिज्य बैंकमा ‘इस्क्रो अकाउन्ट’ खोलेर जम्मा गर्ने समेत सम्झौता भएको छ । यसका लागि खरिदकर्ताले ३५ मिलियन डलर बराबरको ग्यारेन्टीमा प्राइम बैंकमा देखाउनु पर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

तर केही कानूनी झमेला बेहोरेको टाइगर प्यालेस रिसोर्टमा सबै विवाद सकिएपछि मात्रै आफूले खरिद गर्ने भुसालले स्पष्ट पारेका छन् । हाल होटल निर्माण भएको जग्गामा राजकुलोको ११ कठ्ठा जग्गा परेको भन्दै हाल उक्त मुद्दा अदालतमा विचाराधिन छ । भुसालले यसअघि उत्पन्न भएका सबैखाले समस्या समाधान भएपछि मात्रै होटल खरिदको प्रक्रिया अगाडि बढाइने बताए ।

यसरी शुरु भयो खरिदको प्रक्रिया
टाइगर प्यालेस रिसोर्ट बिक्रीको सन् २०१९ को प्रयास असफल भएको जानकारी पाएका अमेरिकामा बसोबास गर्ने खगेन्द्र जिसीले कुराकानीमार्फत् यसको थालनी गरेका थिए । जसमा कालान्तरमा भुसाल, पाण्डेलगायतका टीम गाँसिएको थियो ।

कोरोना महामारीकै बीच अमेरिकाबाट जिसीले स्थानीय पार्टनर खोजी गर्दा उनका केही साथीहरुले भुसालको नाम अगाडि सारेका थिए ।

तत्कालीन समयमा जिसीले भुसाललाई ७ प्रतिशत सेयरको अफर गरेका थिए । तर भुसालले आफू स्थानीय पनि भएको र आफू पार्टनर मात्रै नबस्ने बरु धेरै सेयर पाए मात्रै बस्ने जानकारी गराएका थिए । त्यसपछिका निरन्तरका बैठकले ७ प्रतिशतको सेयर बढ्दै गएर ८७ प्रतिशतमा पुगेको थियो । अर्थात् जिसीले १३ प्रतिशत लिने र बाँकी रहेको सेयरमध्ये भुसालले पार्टनर खोज्ने सहमति अनुसार खरिदको प्रक्रिया अगाडि बढेको थियो । जसमा भुसालले हालसम्म सीएन पाण्डेलाई समेत सहभागी गराइसकेका छन् । साथै थप केही लगानीकर्तालाई पनि होटल खरिदमा सहभागी गराउने बताए ।

भुसालले रुपन्देहीको भैरहवामै पाँच तारे होटल मेगा र बुटवलमा मेगा नाममै ४ तारे होटल बनाउन तयारी गरिरहेका छन् । यस्तोमा भैरहवाको विमानस्थल नजिकै रहेको र लामो समयदेखि विवादमा परेको होटल खरिदमा चासो देखाउनुका केही कारणहरु थिए ।

‘पर्यटनको अथाह सम्भावना हुँदा पनि होटल नसक्नु व्यवस्थापकीय कमजोरी हो भन्ने लाग्छ, त्यसबाहेक यति राम्रो रिसोर्ट बन्द नहोस र त्यहाँ कार्यरत १ हजारभन्दा बढी कर्मचारीको जागिर नगुमोस भन्ने मेरो चाहना हो,’ उनले भने, ‘कुनै समय दक्षिण एसियाको सबैभन्दा राम्रो मानिएको पोखराको फूलबारी रिसोर्टको जस्तो नियती यसले भोग्नु नपरोस भन्ने लागेरै मैले खरिद गर्ने योजना बनाएको हुँ,’ भुसालले क्लिकमाण्डूसँगको कुराकानीमा भने ।

उनका अनुसार टाइगर प्यालेस जस्तो रिसोर्ट बन्द हुनु हाम्रा लागि राम्रो संकेत होइन । त्यसमाथि अर्बौ रुपैयाँ विदेशी लगानी भएको प्रोजेक्ट बन्द हुँदा त्यसले पर्यटन क्षेत्रमा राम्रो सन्देश नदिने भएकाले आफू खरिदका लागि अग्रसर भएको उनको भनाइ छ ।


कमलकुमार बस्नेत