अमेरिकी हतियारकै बलमा तालिबानले कब्जा गर्यो अफगान सत्ता



एजेन्सी । सोच्दै नसोचेको घटनाका रुपमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ । अमेरिका र पश्चिमा देशलाई लाग्दैन थियो कि हामीले सबै ठीक गरेका छौ । अब तालिबान सत्तामा आउनु दिवास्वप्न जस्तै हो ।

भियतनामा युद्ध हारेर फर्केको अमेरिकाका लागि उस्तै परिघटना भएको छ, अफगानिस्तानमा तालिबानको पुनः उदय ।

ठूलो धरराशी खर्च गरेर तालिम दिएको, हितायार, गोला बारुद्ध उपलब्ध गराएको बताइए पनि कुनै गोली नचलाइकन नै तालिबानले काबुल कब्जा गर्यो । शक्तिशाली र विदेशीको आडभरोसमा समेत भएको भनिएका राष्ट्रपति असरफ घानी तालिबानसँग हार मानेर देश छाडेर भागे ।

उनको सरकारमा रहेका अधिकांशले समेत उनकै पदचाप समाते । चुपचाप काबुल विमानस्थलबाट भाग्दै गर्दा, आम विश्लवले भन्यो – उचालेको कुकुरले मृग मार्न सक्दैन । अफगानिस्तानका लागि असरफ घानी त्यस्तै देखिए ।

सन् २००९ मा अमेरिकी नागरिकता त्यागेर अफगानिस्तान छिरेका घानीका लागि आइतबारको निर्वासन यात्रा एउटा दृश्य मात्रै बनिदियो । किनकी, अमेरिकी प्रशिक्षण पाएका भनिएका सरकारी फौज तालिबानका सामू असाध्यै निरिह र कमजोर देखियो ।

तालिबानले सत्ता हातमा लिएको छ । पश्चिमाहरुले अनेकन कोणबाट उनीहरुलाई खुइल्याउन थालेका छन् । तर, तालिबान स्वयम्ले कट्टरपन्थमा नभई खुलापनमा नै आफूहरु शासन चलाउने सार्वजनिक गरेका छन् । सायदै अब एकाध दिनमा अन्तरिम सरकार गठन हुनेछ ।
किन तालिबानका सामू सरकारी फौज निरिह देखियो भन्ने बारेमा अनेकन कोणबाट विश्ल्ेषण भइरहेको छ ।

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको विश्लेषण गरिएको छ ।

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए ‘हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको संख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाइदिए ।’

तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो ।

उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ । यो भन्दा लाजमर्दो अवस्था अमेरिका र पश्चिमाहरुका लागि अरु के हुन सक्ला र ?

पश्चिमी शहर फराहमा, लडाकुहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्वीर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक संकेत भएको बताइन्छ । यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका थिए ।

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भनेका थिए ‘अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ ।

विशेषज्ञहरूको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ । ‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरूले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिवान लडाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ ।

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरूलाई जम्मा गर्न सफल भए । गोली नै नपडकाइकन युद्ध जितिन्छ भन्ने मान्यतामा उनीहरु अडिग रहे । अवस्था पनि त्यस्तै देखियो ।

यो एकदमै गम्भीर कुरा हो पन्टुचीले भने, ‘यो लालिवान लडाकू समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तिय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।’

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतंककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरू पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेल्नु र शहरहरूबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले एएफपीलाई बताएका छन् ।

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उनले भनेका थिए ‘अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो ।’ हालको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।’
तालिवानले आफ्नो सफलतालाई अफबाहको रूपमा फैलाउन सफल भएका भए र सत्ता कब्जा नै गरे । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको देखिन्छ ।

कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकू शीरदेखि पैतालासम्म विद्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र थियो ।
विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले भन्छन् ‘तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।’ तर, उनको यो विश्लेषण समेत हावा खाएको छ ।

योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरू हुनेछन् ।

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिएको छ । संकट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताए पनि अब त्यो काम नलाग्ने भइसकेको छ ।

मध्यपूर्वका अवलोकनकर्ताहरूले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी शहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिवानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने दावी गरेका छन् ।


क्लिकमान्डु