हाउजे मोटरसाइकलको शोरुम बनेपामा



काठमाडौं । हाउजे मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुनेछ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले प्राप्त गरेको हो ।

कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको उद्घाटन गर्नेछन् । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चाबीसमेत हस्तान्तरण गरिनेछ ।

बनेपा तथा आसपासका ग्राहकलाई लक्षितगरी हाउजेको डिलर शुरुवात गर्न लागिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे मोटरसाइकल लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका मोटरसाइकलहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पाट्र्ससहितका डिलरहरु विस्तार गरिएको छ ।

‘डर्ट सेगमेन्टको सो मोटरसाइकल नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् ।

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि–सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस् पनि सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । कम्पनीको शोरुम काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चावहिलमा छ । मोफसलमा चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा शोरुम छन् ।


क्लिकमान्डु