सस्तो प्याकेजमार्फत् आन्तरिक पर्यटक आकर्षित गर्दै बुध्द एयर
काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी वायुसेवामा कम्पनी बुध्द एयरले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सस्ता प्याकेज ल्याएको छ ।
कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्न तथा मुलुकमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले बुध्द एयरको कम्पनी बुध्द होलिडेजले विभिन्न गन्तव्यका लागि सस्ता प्याकेजमार्फत् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्य लिएको हो ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लागू भएको लकडाउनका कारण लामो समयसम्म आन्तरिक उडान बन्द हुँदा त्यसको असर आन्तरिक पर्यटनमा ठूलो परेको छ ।
विश्वव्यापीरुपमा फैलिएर जनजीवन आक्रान्त पारेको कोरोना भाइरसको महामारीको असर आगामी वर्षसम्म पनि उत्तिकै रहने विश्लेषणका बीच विज्ञहरु आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताइरहेका छन् ।
हाल विदेशी पर्यटक नआउँदा नेपालका अधिकांश होटलहरु सञ्चालन हुन सकेका छैनन भने सञ्चालनमा आएका होटलमा पनि पर्याप्त मात्रामा अकुपेन्सी छैन ।
यस्तो अवस्थामा बुध्द होलिडेजले ल्याइएको सस्ता प्याकेजले आन्तरिक पर्यटनमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । बुध्द एयरले शुरुवातमा पोखराको पर्यटन प्रबद्र्धनमा जोड दिएको छ ।
हाल बुध्द एयरले काठमाडौं–पोखरा, नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज र भैहरवा–पोखराका लागि सस्ता प्याकेज ल्याएको छ ।
कम्पनीले पर्यटकीय गन्तव्य पोखरामा केन्द्रित गरी प्याकेज बनाएको हो ।
पोखराका पर्यटक व्यवसायी तथा बाराही होटलका सञ्चालक विप्लव पौडेलका अनुसार पोखरामा पहिले जस्तै गुल्जार हुनका लागि दैनिक कम्तीमा १० हजार पर्यटक आवश्यक पर्छ ।
‘दैनिक कम्तीमा १० हजार पर्यटक भएमा पोखराको पर्यटक फेरि पुरानै लयमा फर्कन्छ, जसमा दैनिक २ हजार पर्यटकको रोटेसन भयो भने सहज हुन्छ,’ उनले भने ।
हाल पोखरामा विदेशी र आन्तरिक पर्यटक नहुँदा सधैभरी चमक हुने लेकसाइड सुुनसान जस्तै छ । तर स्थानीय पर्यटकहरुका कारण लेकसाइडभन्दा केही परको पामेमा भने चहलपहल राम्रो देख्न सकिन्छ ।
यसअघि पहिलो लकडाउनपछि दशैं र तिहारको समयमा प्याराग्लाइडिङलगायतले पोखरामा पर्यटकको चहलपहल बढाएको थियो । तर अहिले दोस्रो लकडाउनका कारण पोखराको पर्यटक फेरि सुस्ताएको अवस्था छ ।
प्रादेशिक उडानमा उत्साह
बुध्द एयरले पछिल्लो पटक शुरु गरेको पोखरा-नेपालगञ्ज रुटमा उत्साहपूर्ण उडान भएको बताएको छ । शुरुवाती दिनमा सातामा ३ दिन उडान गर्ने भनिएकोमा उक्त रुटमा हाल ५ वटा उडान गरिरहेको छ । बुध्द एयरले पोखरा-नेपालगञ्ज-पोखरासँगै प्रादेशिक स्तरमा भैरहवा-पोखरा-भैरहवा, भरतपुर-पोखरा-भरतपुर, भैरहवा-भरतपुर-भैरहवा रुटमा पनि प्रादेशिक उडान गरिरहेको छ ।
सुरक्षित उडान
कोरोना भाइरसको संक्रमणको जोखिमका बीच स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको वायुसेवा सञ्चालक संघले स्पष्ट पारिसकेको छ । संघले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिम हवाई उडानमा न्यून हुने भएकाले उडान संख्या थप गर्न सरकार समक्ष माग गरिरहेको छ । हाल बुध्द एयरका १५ वटा विमान छन् भने कम्पनीले दैनिक ७५ वटा उडान भर्न सक्छ । जसबाट करिब ८ हजार यात्रुले बुध्दमार्फत् उडान गर्न सक्छन् । काठमाडौंस्थित आन्तरिक विमानस्थलमा यात्रुहरुमा भौतिक दूरी कायम राख्नका लागि सबैखाले मापदण्ड अपनाइएको छ भने भिड नहोस् भन्ने विमानस्थलले अस्थायी ‘वेटिङ रुम’को समेत व्यवस्था गरेको छ ।
कस्तो छ प्याकेज ?
बुध्द होलिडेजका अनुसार काठमाडौं पोखराका लागि प्रतिव्यक्ति ६ हजार ९९९ रुपैयाँको प्याकेज छ । जसमा २ रात र ३ दिनको अफर समावेश गरिएको छ । पोखराको स्तरीय होटलमा २ रात बेड एण्ड ब्रेकफास्टको सुविधाका साथै काठमाडौं–पोखरा–काठमाडौंका लागि दुईतर्फी हवाई टिकट पनि अफरमा समावेश गरिएको छ । साथमा विमानस्थलमा पिकअप एण्ड ड्रपको पनि व्यवस्था छ ।
त्यसैगरी पोखरा–नेपालगञ्जका लागि होलिडेजले १३ हजार ४९९ रुपैयाँको प्याकेज बनाएको छ । जसमा दुईतर्फी हवाई टिकट, ट्विन सेयरिङमा ब्रेक एण्ड ब्रेकफास्टका साथै एयरपोर्ट पिक एण्ड ड्रपको पनि व्यवस्था छ । यो अफर पनि २ रात र ३ दिनका लागि बनाइएको छ ।
त्यसैगरी नेपालगञ्ज हुँदै पोखरा २ रात ३ दिनका लागि आउनेका लागि १० हजार ९९९ रुपैयाँको प्याकेज बनाइएको छ । जसमा जसमा दुईतर्फी हवाई टिकट, ट्विन सेयरिङमा ब्रेक एण्ड ब्रेकफास्टका साथै एयरपोर्ट पिक एण्ड ड्रपको पनि व्यवस्था छ ।
त्यसैगरी बुध्द एयरले घुम्न जाउँ पोखरा अन्तर्गत भैरहवा–पोखराका लागि ८ हजार ९९९ रुपैयाँको प्याकेज उपलब्ध गराएको छ । जसमा जसमा दुईतर्फी हवाई टिकट, ट्विन सेयरिङमा ब्रेक एण्ड ब्रेकफास्टका साथै एयरपोर्ट पिक एण्ड ड्रपको पनि व्यवस्था छ ।
पोखरामा थपिँदै पर्यटकीय पूर्वाधार
पोखरा फेवा, रुपा र बेगनास तालका लागि मात्रै होइन । यतिबेला यसका वरपर बन्दै गरेका पर्यटकीय पूर्वाधारले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ । रुपाकोटमा रुपाकोट रिसोर्ट मात्रै होइन, फेवातालको शिरानमा रहेको पामेमा पनि स्तरीय रिसोर्टले पनि पर्यटकको मन आकर्षित गरिरहेको छ ।
त्यसबाहेक पुम्दीकोटमा निर्माणको अन्तिम चरणमा रहेको महादेवको भिमकाय मुर्ती, त्यसभन्दा केही तलको शान्ति स्तुपा, त्यसको ठ्याक्कै पारीपट्टीको अन्नपूर्ण केबुलकार, सराङकोटको जीपफ्लाइङ र हेम्जाको बञ्जीजम्पलगायतका पूर्वाधारले पनि पर्यटक आकर्षित गरिरहेको छ ।