संसदमा ओलीः विपक्षीलाई दशैं लाग्यो, १ महिनासम्म केही नगरेमा बधाई



काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसद पुनस्र्थापनापछि पहिलोपटक संसदमा बोलेका छन् ।

सत्ता गठबन्धनलाई निकै आलोचनात्मक शैलीमा प्रस्तुत भएका ओलीले सरकार परिवर्तन लोकतन्त्रमा सामान्य भएपनि अहिले असामान्य तरिकाले नयाँ सरकार बनेकाले गठबन्धनका नेताहरु निकै हौसिएको बताए ।

‘सरकार परिवर्तनको कुरा लोकतन्त्रमा सामान्य विषय नै हो । तर असामान्य तरिकाले सरकार परिवर्तन भएकाले होला सत्तापक्षीय गठबन्धनका मित्रहरु असाध्यै हौसिनु भएको छ । दशैं आएजसरी, केटाकेटी आँगनमा नाँचेजस्तो हौसिनु भएको छ,’ ओलीले भने, ‘यो सरकार गठन भएको १ महिनामा केही काम नगरेकोमा साथीहरु धन्यवाद र बधाई भनिरहनु भएको छ । खुब चलेको छ धन्यवाद र बधाई ।’

भूमि सम्बन्धी समाधान आयोग गर्ने खारेजी गर्ने सरकारको निर्णयको पनि ओलीले संसदमा विरोध गरेका छन् ।

‘सुकुम्बासी आयोग, भूमिहीन आयोग खारेज गरेर सरकारले उनीहरुको घाँटी सेरेको छ । यो सरकारकाले गरेको काम हो यो,’ ओलीले भने ।
विपक्षी गठबन्धनले आफू लक्षित विरोध र गालीगलौज पनि गरेको तर आफू त्यसबाट कत्ति पनि विचलित नभएको उनले बताए ।

‘ममाथि निकै प्रहार गरेको देखियो । भइरहेको पनि छ । मलाई त्यसमा चिन्ता छैन । समृद्ध नेपालः सुखी नेपालीको नारा बोकेको मान्छेलाई यस्ता सानातिना गालीलगौजले खासै फरक पार्दैन । म लक्ष्यप्रति प्रतिवद्ध छु,’ ओलीले भने, ‘सहि ठाउँमा सहि व्यक्ति नियुक्त गर्ने र नातावाद, कृपावादको छायासम्म पर्न नदिने मेरा नीति रहे ।’

आफू फेरि जनमतबाटै सरकारमा आउने पनि ओलीले संसदबाट दावी गरे ।

‘म प्रधानमन्त्री हुन जन्मेको होइन तर काम गर्दै जाँदा प्रधानमन्त्री भए,’ उनले भने, ‘फेरि जालझेल, तिकडम, गठबन्धनको संस्कृति भएन भने म झ्यालबाट होइन, झस्केलाबाट होइन, छिँडीबाट होइन, मुलढोका र मुल बाटोबाट आउनेछु । म फेरि पनि असाधारण जनमतका साथ मूल ढोकाबाट सरकारमा आउनेछु ।’


क्लिकमान्डु