चोरी पैठारीका सवारी साधन बिक्रीमा, २२ हजारमा मोटरसाइकल, ६ लाखमा महिन्द्रा बोलेरो



काठमाडौं । जनकपुर भन्सार कार्यालय धनुषाले चोरी पैठारीको अभियोगमा जफत गरिएको सवारीसाधन लिलाम बिक्री गर्ने तयारी शुरु गरेको छ । कार्यालयले कार, जिप, भ्यान, पिकअप, बोलेरो, मोटरसाइकललगाय सवारी साधन लिलाम बिक्री गर्न लागेको हो ।

कार्यालयले चोरी पैठारीको अभियोगमा जफत गरिएको सवारीसाधन लिलाम बिक्री गर्न साउन २५ गते सार्वजनिक सूचना प्रकाशित गरेको छ । कार्यालयले गोप्य सिलबन्दी बोलपत्रको माध्यबाट लिलाम बिक्री गर्नेछ । यसमा सहभागी हुन नेपाली नागरिक, फर्म वा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम बुझाएर आवेदन दिन सकिन्छ ।

उक्त रकम राष्ट्रिय वाणिज्य बैंक जनकपुरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय धुनषाको धरौटी खाना नं. १२२०१००१०२०३०००० मा जम्मा गरी सोको सक्कल भोचर सिलबन्दी बोलपत्र फारम साथ पेश गर्नु पर्नेछ ।

लिलाम बिक्री टाटा क्वासीन योधा पिकअप ६ लाख ८५ हजार ५०० रुपैयाँ, टेम्पो पियाजियो १ लाख ६ हजार ५०० रुपैयाँ, महिन्द्रा बोलेरो पिकअप ६ लाख १५ हजार रुपैयाँ, टाटा सूमो ३ लाख २ हजार रुपैयाँ, हुन्डाई आई २० एक्टिभ ६ लाख ८८ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।

यस्तै, महिन्द्रा बोलेरो पिकअप ७ लाख रुपैयाँ, टाटा योधा पिकअप ७ लाख रुपैयाँ, टाटा म्याजिक भ्यान ६ लाख ६६ हजार रुपैयाँ, महिन्द्रा बोलेरो जिप ३ लाख २५ हजार रुपैयाँ, महिन्द्रा पिकअप ५ लाख ३० हजार रुपैयाँ मूल्य कायम गरिएको छ । यसका लागि १ हजार रुपैयाँ बोलपत्र फाराम दस्तुर तोकिएको छ ।

टीभीएस, हिरो, रोयल एनफिल्ड, बजाज, होेण्डा लगायत ब्राण्डको मोटरसाइकल पनि लिलाम बिक्रीमा राखिएको छ । मोटरसाइकल २२ हजार ५०० रुपैयाँदेखि ५ लाख ३० हजारसम्म लिलाम बिक्रीमा राखिएको छ ।


क्लिकमान्डु