लामोसाँघु-तामाकोशी-जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने



काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको सडक सडक सुधार तथा विकास आयोजना निर्देशनालय लामोसाँघु–तामाकोशी–जिरी कार्यालय प्रमुख दीप बराहीले जानकारी दिए ।

यो सडक आयोजना एक्जिम बैंक भारतको ऋण सहयोगमा निर्माण शुरु गरिएको हो । लामोसाँघु–तामाकोशी–जिरी सडक खण्ड ११० किलोमिटर छ । साँघुरो सडकलाई २ लेनमा स्तरोन्नती गर्ने भन्दै ६ वर्ष अघि लामोसाँघु–तामाकोशी–जिरी सडक निर्माण शुरु गरिएको थियो ।
यो सडकलाई ३ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । लामोसाँघु–मुढे २५ किलोमिटर, मुढे–चरिकोट ३० किलोमिटर र चरिकोट–जिरी ५५ किलोमिटर छ । लामोसाँघु–मुढे–चरिकोट खण्ड २०७२ असारमादेखि निर्माण शुरु गरिएको हो । चरिकोट–जिरी खण्ड २०७५ असारमा ठेक्का लगाइएको हो ।

लामोसाँघु–मुढे सडक खण्डको निर्माण कार्य करिब सम्पन्न भइसकेको प्रमुख बराही बताउँछन् ।

‘यो खण्डमा सामान्य मर्मतको काम मात्र बाँकी छ । वर्षातले गर्दा केही ढिला भएको छ,’ बराहीले भने, ‘अबको ६ महिनामा ती बाँकी काम पनि सम्पन्न हुनेछ ।’

मुढे–चरिकोट सडक खण्डमा भने निर्माण व्यवसायीले ढिला सुस्ती गर्दा लक्ष्य अनुसार काम हुन नसकेको उनी बताउँछन् । यो खण्डमा हालसम्म ६ किलोमिटर सडक मात्र पिच भएको छ ।

समयमै निर्माण नगरेको भनेर निर्माण व्यवसायीलाई हर्जना तिराउने तथा सचेत गर्न काम भइसकेको छ । कार्यालयले निर्माण व्यवसायीलाई १० प्रतिशत हर्जना तिराएको उनले जानकारी दिए ।

पछिल्लो समय कोभिड र वर्षाका कारण केही समस्या भइरहेको छ । यो खण्ड पनि चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने ठेकेदारले प्रतिवद्धता जाहेर गरेको उनले बताए ।

२०७५ असारमा ठेक्का लगाइएको चरिकोट–जिरी खण्डको प्रगति राम्रो देखिएको छ । यो खण्डमा ४५ किलोमिटर पिच भइसकेको छ । तीन वटै ठेक्का चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइ सडक पूर्व रुपमा सञ्चालनमा आउने उनको दावी छ ।

स्तरोन्नतीका लागि भत्काइएको सडक ६ वर्षसम्म निर्माण सम्पन्न नहुँदा यो सडकहुँदै यात्रा गर्ने सिन्धुपाल्चोक, दोलखा, रामेछापका यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य छन् । सडक विस्तारमा ढिलाई हुँदा ढिलाइ हुँदा यस भेगका यात्रु वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भई कष्टकर यात्रा गर्न बाध्य छन् ।

३ अर्ब ६४ करोडको ठेक्का
लामोसाँघु–तामाकोशी–जिरी सडक तीन वटा प्याकेटमा भ्याट बाहेक ३ अर्ब ६४ करोडको रुपैयाँमा ठेक्का लगाइएको हो । लामोसाँघु–मुढे भारतको सिमान्चल र नेपालको गौरी पावर्ती, सुनौलो खिम्ती जेभीले ५५ करोड रुपैयाँमा ठेक्का पाएको हो । मुढे–जिरी भारतको शकिल हाइडर र नेपालको शंकर माली, सुनौलो खम्तीले ८९ करोड रुपैयाँमा ठेक्का प्राप्त गरेको हो । यस्तै चरिकोट–जिरी भारतको उडहिल र नेपालको लामा कन्ट्रक्सनले २ अर्ब २० करोड रुपैयाँमा निर्माण गरिरहेको छ ।


क्लिकमान्डु