संकटमा फिल्म हल: ऋण तिर्न कुमारी हलका सञ्चालकले जग्गा बिक्री गर्ने



काठमाडौं । कोराना भाइरस महामारीका कारण बन्द भएका फिल्म हलका कारण सञ्चालकहरु यतिबेला ठूलो आर्थिक संकटमा परेका छन् ।

केही समयअघि राजधानीको पुरानोमध्येको एक जय नेपाल फिल्म हल सधैका लागि बन्द भएकोमा सोही व्यवस्थापकले अब कुमारी हल पनि सधैका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी शुरु भएपछि बन्द भएका फिल्म हल पछिल्लो डेढ वर्षयता संकटमा परेका छन् । पहिलो र दोस्रो लहरका बीचमा केही सिनेमा हल खुले पनि राम्रा चलचित्र नहुँदा दर्शकको साथ पाएनन् । जसका कारण सिनेमा हलका सञ्चालकहरु थप आर्थिक संकटमा परेका छन् ।

जयनेपाल र कुमारी क्यूएफएक्स अन्तर्गत सञ्चालित सिनेमा हल हुन् । यी दुबै हल क्यूएफएक्सको व्यवस्थापनमा सञ्चालित हल हुन् ।

हल बन्द भएपछि तत्कालीन जग्गाधनी स्वर्गीय गन्धर्व शमशेर राणाको परिवारका सदस्यले पनि जग्गा बिक्री गर्ने तयारी गरेको हो । कुमारी हल भएको जग्गा राणाका परिवारको नाममा र पार्किङ भएको २ रोपनी क्षेत्रफल क्यूएफएक्सका सञ्चालक नकिम उद्धिनको समूहमा छ ।

नकिम निकट स्रोतका अनुसार कुमारी हल अब सधैका लागि बन्द गर्ने र त्यहाँ पार्किङ रहेको २ रोपनी जग्गा बिक्री गर्ने निर्णय उनीहरुले गरिसकेका छन् ।

जसअनुसार प्रतिआनाको १ करोड रुपैयाँ हाराहारीको मूल्यमा नकिमको समूहले जग्गा बिक्री गरेर अन्य स्थानमा सञ्चालित सिनेमा हलका लागि लिइएको ऋण तिर्ने योजना समूहले बनाएको हो ।

क्यूएफएक्स अन्तर्गत नकिमको समूहले काठमाडौं उपत्यकामा लाबिम मल, सिभिल मल तथा ठमेलको छाँया सेन्टरमा समेत सिनेमा हल सञ्चालन गरिरहेको छ ।
‘कुमारी र जयनेपालमा त्यसैपनि व्यवसाय कम थियो, कोभिडले चौपट बनाएपछि निस्कने बन्द गर्ने निर्णय भएको हो,’ नकिम निकट स्रोतले भन्यो ।

कोरोनाका कारण यी मात्रै होइन देशभर करिब ५० भन्दा बढी सिनेमा हल बन्द भइसकेका छन् । कतिपयले भने मल्टिप्लेक्स बनाउनका लागि सिनेमा हल बन्द गर्न लागेका हुन भने कतिपयले बिक्री गरेर बाहिरिने सोच अनुसार बन्द गरेका छन् ।

जसमध्येको एक हो गोपिकृष्ण हल । उद्धव पौडेलले सञ्चालित गरेको चाबहिलस्थित गोपिकृष्ण सिनेमा हल रहेको भवन भत्काएर आधुनिक मल बनाएर फिल्म हल चलाउने योजना बनाइएको छ ।

फिल्म हल सञ्चालकका अनुसार २ वर्षजति अब फिल्म हलमा व्यवसाय हुने सम्भावना छैन । बैंकबाट लिएको ऋण तथा सञ्चालन खर्च धान्न मुस्किल पर्ने भएपछि हलहरु बन्द तथा भएको जग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने मनस्थितीमा पुगेका हुन् ।


क्लिकमान्डु