प्रधानमन्त्री भेटेर फर्केपछि गभर्नरले भने- बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति आउँछ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग दुबै जना डेपुटी गभर्नरसहित भेट गरेर फर्किपछि क्लिकमाण्डूसँग भने, ‘प्रधानमन्त्रीज्यूसँग भेट भयो, बजेट संशोधनको तयारी भइरहेको छ । संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति आउँछ ।’

भेटमा गभर्नरले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा बिफ्रिङ गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूसँगको भेटमा आर्थिक अवस्था, कुन सूचक कस्ता छन् भन्ने विषयमा हामीले जानकारी गरायौं,’ उनले भने ।

हाल देउवाको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट संशोधनको तयारी गरिरहेको छ । केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट हाल संसदमा पेश भएको छ ।

संसदबाट बजेट अध्यादेश पास भएपछि संशोधनको काम शुरु हुनेछ । संशोधन सकिए लगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकले तयारी गरेको छ । सरकारले बजेट संशोधनको तयारीसँगै श्वेतपत्र वा यथार्थपत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसका लागि अर्थमन्त्री जनार्दन शर्माले लेखनका लागि जिम्मा दिइसकेका छन् ।

भेटमा संलग्न प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले अत्यन्तै छोटो सम्बोधन गरेका थिए । प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई अर्थतन्त्रका बारेमा वास्तविक जानकारी गराएकोमा धन्यवाद दिँदै मिलेर काम गर्नुपर्ने बताए ।


क्लिकमान्डु