मर्मतको नाममा २ महिनादेखि त्रिशुली थ्री ए बन्द, भारतबाट विजुली आयात




काठमाडौं । देशभित्रका आयोजना मर्मतको नाममा लामो समयदेखि बन्द गरेर वर्षाको समयमा समेत भारतबाट बिजुली आयात भइरहेको छ ।
मर्मतको नाममा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजना झण्डै दुई महिनादेखि बन्द रहेको छ ।

गत वर्षहरुमा तत्कालीस्न कार्यकारी निर्देशक कुलमान घिसिङ आफै खटेर दैनिक ३ वटा सिफ्ट नै बनाएर कार्यतालिका मिलाएर जलविद्युत् आयोजनाको मर्मत सम्भार हुने गरेको थियो । कालीगण्डकी तथा मस्र्याङदी आयोजनामा त्यसैगरी कार्यतालिका बनाइन्थ्यो ।

तर, प्राधिकरणको हालको व्यवस्थापनले कुनै कार्यतालिका नै नबनाइकन नै मर्मत गर्ने भनेर आयोजना बन्द गरेर राखेको छ । सोही कारण भारतबाट हालपनि बिजुली आयात भइरहेको छ । गत वर्ष बर्षाको समयमा टोकनको रुपमा भएपनि बिजुली भारत निर्यात गरिएको थियो ।

तर, यसवर्ष मध्य वर्षामा नै आयोजना बन्द गरिएको छ । चिनियाँ ठेकेदारले समयमै सामान नल्याएको तथा कोरोनाका कारण उनीहरु आउन नसकेको जस्ता विषय अगाडि सारिएको छ ।

प्राधिकरणको व्यवस्थापनले यसबारेमा ध्यान नदिएको भन्दै आलोचना पनि भएको छ । केही दिन अघि प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले चिनियाँ ठेकेदारले कोरोनाका कारण सामान आयात गर्न नसक्दा मर्मतमा ढिलाइ भएको एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।

विगतमा पो कुलमान घिसिङ आफै फिल्डमा जान्थे, आयोजना स्थलमै बस्थे, आफै खटिन्थे, मर्मतमा संलग्न प्राविधिकलाई पनि कार्यकारी निर्देशक नै आएका छन् भन्दा हौसला हुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन, निर्देशन दिने काम मात्रै हुन्छ । त्यसले मात्रै सबै स्थानमा काम गर्दैन,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने ।

वर्षाका समयमा भारतबाट बिजुली आयात गर्नुपर्ने विषम अवस्थामा प्राधिकरण पुगेको छ । प्राधिकरणको प्रणालमिा हाल भारतबाट कूल ४३८४ मेगावाट घण्टा बिजुली आयात भइरहेको छ । कूल माग भने १४४१ मेगावाट रहेको छ ।

यस्तै, हिउँदको लागि पावर व्यांक मानिएको कुलेखानी समेत वर्षाको समयमा चलाइएको छ । सामान्यता वर्षाको समयमा कुलेखानी जलाशयुक्त आयोजना चलाइदैन ।

हाल प्राधिकरणका आयोजनाबाट ८४०९ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १५ हजार ७०० मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । भारतबाट ८४८४ मेगावाट घण्टा आयात हुँदा कूल बिजुली माग भने २८ हजार ४९३ मेगावाट घण्टा रहेको छ ।


पुष्प दुलाल