तुलसी सेवन गर्नुभएको छ ? यस्ता छन् फाइदा



काठमाडौं । दुई दिन पहिले हिन्दु परम्परा अनुसार मठमा तुलसी रोप्ने दिन । नेपाल नेपाल, भारतलगायतका विभिन्न देशमा मठमा तुलसी रोपिएको छ ।

धार्मिक दृष्टिले यसलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर, तुलसीका अनेकन फाइदा छन् भन्ने कुरा आम मानिसलाई कमै मात्र थाहा छ ।

घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि अथ्र्याउने प्रयास गरिएको छ । वैज्ञानिक रुपमा तुलसीको फाइदा अपरम्पार रहेको जानकारहरु बताउँछन् । यसमा रहेको औषधीय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिने आयुर्वेदका जानकारहरुको भनाइ छ ।

यसलाई महत्वपूर्ण जडिबुटीको श्रेणीमा राखिएको छ । किनकी रुघा तथा खोकी लाग्दा तुलसीको प्रयोगले विशेष फाइदा दिन्छ । तुलसीको पात र दानाका आ–आफ्नै खालका विशेषता रहेका छन् । यसको औषधीय लाभका बारेमा राम्रै खोज पनि भएको छ ।

यो एक प्रकारको सुगन्धित वनस्पती पनि हो । यसले वायु मण्डलमा रहेका दुषित हावालाई समेत स्वच्छ बनाउन सहयोग गर्छ । यो एक किटाणुनाशक वनस्पती समेत हो । त्यसकारण यसको बहुउपयोग रहेको छ ।

खोज तथा अनुसन्धानमा संलग्नहरुका अनुसार खासमा तुलसी ५ प्रकारका पाइन्छन् । तर पनि प्रचलित भने सेतो र कालो प्रजातिका तुलसी मात्रै रहेका छन् । यसको सेवनबाट खानपान तथा प्रदुषणका कारणले उत्पन्न हुने विकारलाई हटाउन सहयोग गर्दछ । पेट सफा गर्दछ भने यसले रक्तसञ्चार प्रणालीलाई पनि बलियो बनाउन सहयोग पुर्याउँछ । तुलसीमा एन्टिअक्सिडेन्ड नामक तत्वले मानव शरीरलाई फाइदा दिन्छ ।

सामान्यरुपमा पनि तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले युक्त रहेको आम धारणा रहेको छ । धोइ पखाली गरेर तुलसीको पात त्यसै पनि खान सकिन्छ । यस्तै, पातलाई सुकाएर चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसी सेवन गर्दा पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्ने आयुर्वेदमा उल्लेख गरिएको छ । यस्तै, कलेजोको क्षमतामा समेत वृद्धि गर्ने चिकित्सकहरुको भनाइ छ ।

ह्वासको दुर्गन्ध हटाउन तथा हड्डी बलियो बनाउन एवम् अनुहारको दाग हटाउन समेत तुलसी लाभदायी मानिन्छ ।

आयुर्वेदका अनुसार चिसो वा मर्की लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा पकाएर पनि पिउन सकिन्छ ।

तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुने भएकाले घाउ तथा चोटपटक नियन्त्रण गर्न समेत यसको उपयोग गरिन्छ । पुरुषमा हुने यौन दुर्बलता हटाउन समेत तुलसी लाभकारी हुने अध्ययनबाट प्रष्ट भएको छ ।


क्लिकमान्डु