स्टार्टअपलाई पुरस्कृत गर्न उद्योग मन्त्रालयले माग्यो आवेदन



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाईदिने भन्दै आवेदन माग गरेको छ ।

नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई असार २३ गतेभित्र मन्त्रालयमा निवेदन बुझाउन भनिएको छ ।

मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन । मन्त्रायलका शाखा अधिकृत विकासचन्द्र शर्माकाअनुसार पुरस्कार राशी कति हुने वा कतिवटा नवप्रवर्तनलाई सम्मानित गर्न लागिएको हो भन्ने कुरा तय हुन बाँकी छ ।

‘अहिले निवेदन मात्र माग गरिएको हो । यसको छनौट हुने उत्कृष्ट नवप्रवर्तनले कति पुरस्कार पाउँछन् भन्ने निर्धारण हुन बाँकी छ,’ शर्माले भने ।

मन्त्रालयले नवीनतम ज्ञान, सीप र क्षमताको प्रयोग गरी नमूनायोग्य नवप्रवर्तनकारी उद्योग स्थापना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सञ्चालन गरेका उद्यमी फर्म वा कम्पनी लागी कदर र सम्मान गरी थप प्रोत्साहित गर्ने लागिएको जनाएको छ ।

त्यस्तै, नवप्रवर्तनलाई नेपालभित्रै सुधारिएको अथवा फरक प्रकृतिको वस्तुको उत्पादन गरेको वा नवीन किसिमको सेवा प्रदान गरेको कम्पनीलाई पहिलो प्राथमिकता दिइएको छ ।

शुरुमा प्रस्ताव पेश गरेपछि मन्त्रालयले निश्चित मापदण्डका आधारमा संक्षिप्त सूची प्रकाशित गर्नेछ । यो प्रतियोगितामा भाग लिने व्यक्ति वा कम्पनीले कर प्रयोजनका लागि स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिएको हुनुपर्नेछ ।


क्लिकमान्डु