एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ



काठमाडौं । भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् ।

बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।