३ करोड लागतमा नेपालमै ‘स्पाइसी इन्स्ट्यान्ट फिस’ उत्पादन शुरु



काठमाडौं । नेपालमा स्पाइसी इन्स्ट्यान्ट फिस उद्योग सञ्चालनमा आएको छ ।

नेपाल पास्ता फुड कम्पनीको सहायक कम्पनी सिक्सभिल्लाले स्पाइसी इन्स्ट्यान्ट फिस उत्पादन शुरु गरेको हो ।

कम्पनीले हेटौडा औद्योगिक क्षेत्रमा असारको पहिलो सातादेखि स्पाइसी इन्स्ट्यान्ट फिस उत्पादन शुरु गरेको कम्पनीका क्षेत्रीय म्यानेजर दीपकप्रसाद नेपालले जानकारी दिए ।

करिब ३ करोड रुपैयाँको लगानीमा इन्स्ट्यान्ट फिस उत्पादन शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको उत्पादन क्षमता ३ सय कार्टुन प्रतिदिन रहेको छ ।

‘नेपालमा स्पाइसी इन्स्ट्यान्ट फिस बाहिरबाट आयात भई बिक्री वितरण हुँदै आएको छ । नेपालमा स्पाइसी इन्स्ट्यान्ट फिसको बजार राम्रो देखिएको छ,’ म्यानेजर नेपालले भने, ‘नेपालमै उद्योग नहुँदा बाहिरबाट आयात गर्नु परेको हो ।’

आयातलाई प्रतिस्थापन गर्न तथा स्वदेशमै उत्पादित उत्पादन प्रति ग्राहकको रुचि जगाउन उद्योग सञ्चालन गरिएको नेपालले बताए ।

अहिले उद्योगले परीक्षण उत्पादन गरिरहेको छ । हाल भने दैनिक २० देखि ३० कार्टुन उत्पादन भइरहेको छ । एक कार्टुनमा १२० वटा प्याकेट हुन्छ ।

कम्पनीले बजारमा प्रतिप्याकेट ६० रुपैयाँमा बिक्री गरिरहेको छ । बजारमा माग बढेसँगै कम्पनीले पूर्णक्षमता तथा क्षमता बिस्तार गरी उत्पादन बढाउने योजना बनाएको छ ।

कम्पनीले स्पाइसी इन्स्ट्यान्ट फिस उत्पादनका लागि आवश्यक पर्ने उपकरण र कर्जा पदार्थ चीनबाट ल्याएको हो ।

नेपाल पास्ता फुड कम्पनी २०६२ सालमा स्थापना भएको हो । कम्पनीले प्राउन, पास्ता, म्याक्रोनी, फुजुली, बेसनको पिठो, सेवई, चीप क्याकर, कुरकुरे, बराली चाउमिन (भेज र अण्डा) लगायत उत्पादन गर्दै आइरहेको छ । कम्पनीको मूख्य कार्यालय काठमाडौं स्थित महाराजगञ्जमा छ ।


क्लिकमान्डु