लगानी कोषले पर्यटन क्षेत्रका लागि कोभिड प्रभावित बिशेष सापटी सेवा दिने



काठमाडौं । नागरिक लगानी कोषले पर्यटन क्षेत्रका कर्मचारीका लागि लक्षित गर्दै बिशेष सापटी सेवा योजना ल्याएको छ ।

यो योजनाअनुसार कोषबाट सञ्चालित कर्मचारी बचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिकरुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी लिन पाइनेछ ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण पर्यटन उद्योगसंग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन । यो क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि तुलनात्मक रुपमा अरु क्षेत्रको भन्दा बढी प्रभावित भएका छन ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

यस सापटीमा कर्मचारी बचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यस्को मतलब लिने र दिने ब्याजदरको अन्तर शून्य रहनेछ ।

यो सेवा आगामी पुस मसान्तसम्म उपलब्ध हुनेछ भने सापटी लिएको रकम २ वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ ।


क्लिकमान्डु